☰ open Loading... 21 September 2024|  

टाइफाइड हुँदा के खाने, के नखाने ?
पश्चिम नेपाल   | ६ श्रावण २०८१, सोमबार १३:२६

विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो ।

टाइफाइड प्राय: गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहका धेरै खालका जीवाणु हुन्छन् तर टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाई र पारा टाइफाइडका जीवाणुहरू भेटिन्छन् । दूषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरू गर्मी र वर्षायाममा बढी सक्रिय हुन्छन् ।

टाइफाइडको लक्षण

पेट तथा टाउको दुख्ने, अचानक अत्याधिक ज्वरो आउने, बान्ता हुने, अत्याधिक पसिना आउने र कब्जियत वा पखाला लाग्ने टाइफाइडका लक्षणहरू हुन् । कडाखालको टाइफाइड लामो समयसम्म रहेमा आन्द्रामा प्वाल पर्ने सम्भावना समेत हुन्छ ।

उपचार

टाइफाइडको उपचारमा एन्टिबायोटिकसँगै ज्वरो घटाउने औषधिको प्रयोग गरिन्छ । टाइफाइड हुँदा आफूखुसी एन्टिबोटिकको सेवन गर्नु हुँदैन । राम्ररी जाँच गरेर चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । एन्टिबायोटिक खान थालेको दुई दिनपछि बिरामीलाई हलुका राहतको अनुभव हुन्छ, जसले गर्दा कतिपयले एन्बिायोटिकको मात्रा पूरा नै नगरी छोड्दिने पनि गर्छन् । त्यसो गर्दा औषधिले राम्ररी कम नगरेर फेरि समस्या बल्झिन सक्छ । त्यसैले चिकित्सकको सल्लाहअनुसार औषधिको पूरा मात्रा लिनुपर्छ ।

बच्ने उपाय

टाइफाइडबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउनुपर्छ । फलफूल तथा काँचो खानेकुरालाई राम्ररी पखालेर मात्र खानुपर्छ र खाना खानुअघि राम्ररी हात धुनुपर्छ । बाहिरको खानेकुरा, बासी काँचो र सडेगलेको खानेकुरा खानु हुँदैन । साथै टाइफाइडबाट बच्न १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाले टाइफाइड विरुद्धको खोप पनि लगाउनुपर्छ ।

टाइफाइडमा के खाने ?

टाइफाइड ज्वरोले पखाला निम्त्याउन सक्छ, जसकारण शरीरमा निर्मलीकरण हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । कम्तीमा तीन लिटर सफा पानी पिउनुपर्छ साथै नरिवल पानी, कागती पानी पनि पिउन सकिन्छ ।

टाइफाइडको बेलामा कार्बोहाइड्रेटयुक्त खानेकुराको सेवन बढाउनुपर्छ । उच्च कार्बोहाइड्रेटयुक्त खानेकुरा सजिलै पच्नुका साथै यसले शरीरलाई ऊर्जा प्रदान गर्छ । दाल, भात, आलु जस्ता कार्बोहाइड्रेटयुक्त खानेकुरालाई आहारमा समावेश गर्नुपर्छ ।

टाइफाइड संक्रमण हुँदा तौल घट्छ । त्यसैले क्यालोरी आवश्यकताहरू पूरा गर्न पर्याप्त खाना खानुपर्छ । सजिलै पचाउन सकिने खानाको रूपमा पर्याप्त क्यालोरी उपभोग गर्दा पेटको दुखाइ कम हुन्छ । केरा, आलु, होल ग्रेन आदिलाई खानामा समावेश गर्नुपर्छ ।

ओमेगा थ्री युक्त खानेकुराले टाइफाइड ज्वरोको समयमा हुने सुन्निने समस्यालाई कम गर्छ । टाइफाइड डाइट चार्टमा पोषक तत्त्व र ओमेगा थ्री फ्याटी एसिड भएको खानेकुरा समावेश गर्नुपर्छ । अण्डा, सोयाबिन आदिको सेवन गरेर ओमेगा थ्री फ्याटी एसिड पाउन सकिन्छ ।

टाइफाइडका बिरामीमा ज्वरोको समयमा प्रोटिनको कमी हुनसक्छ । पर्याप्त प्रोटिनका लागि आहारमा दही, दूध आदि दुग्धजन्य पदार्थको सेवन गर्नु उचित हुन्छ । दहीमा हुने राम्रो ब्याक्टेरियाले आन्द्रा सुन्निएको कम गर्छ र आन्द्रा चलाउन सजिलो बनाउँछ ।

के नखाने ?

टाइफाइड ज्वरोको बेला बिरामीलाई दिइने आहारमा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा आहारमा उच्च फाइबरयुक्त खाना दिनु हुँदैन । उदाहरणका लागि गहुँको रोटी जस्ता खाद्यपदार्थले बिरामीको पाचन तन्त्रमा क्षति पुर्‍याउन सक्छ र यो पच्न पनि निकै समय लाग्छ ।

वर्षायाममा काँचो तरकारी तथा फलफूल हाम्रो स्वास्थ्यका लागि राम्रो होइन । टाइफाइडको बिरामीलाई यस्ता खानेकुरा नदिनु नै उचित हुन्छ । किनभने यस्तो प्रकारको काँचो तरकारीमा थुप्रै ब्याक्टेरिया र भाइरस हुन्छन्, जुन खाँदा सजिलै शरीरभित्र प्रवेश गर्न सक्छन् । त्यसैले कुनै हरियो तरकारीलाई राम्रोसँग पकाएर खानुपर्छ ।

टाइफाइडका बिरामीले मसालेदार खाना खाँदा आन्द्रा सुन्निन सक्छ । बिरामीले खुर्सानी, मरिच, भेनेगर, सस, सलाद, डिब्बामा बन्द गरिएका फलफूल र तरकारीबाट टाढै हुनुपर्छ । टाइफाइडको समस्यामा धेरै तारेको भुटेको खानेकुरा खानु हुँदैन । यी खानेकुरा पचाउन गाह्रो हुन्छ र पेटमा दबाब पर्छ ।

बन्दा, ब्रोकाउली र काउली जस्ता केही तरकारीले पेटमा ग्यास भरिने र फुल्ने समस्या निम्त्याउँछ । यसले पेटमा दबाब बढाउँछ र समग्र स्वास्थ्यलाई असर गर्न सक्छ, त्यसैले टाइफाइडको समस्या भएको बेला यस्ता तरकारीको सेवन पनि नगर्नु नै राम्रो हुन्छ ।