☰ open Loading... 20 September 2024|  

धुवाँले लियाे १२ दिने सुत्केरीको ज्यान
पश्चिम नेपाल   | ७ श्रावण २०८१, मंगलवार ०८:१८

जुम्लाको पातारासी-६ बाँताकी एक सुत्केरीको आगो बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको छ। सुत्केरी भएको ११ ओैं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर मृत्यु भएको हो।

पातासारी-४ माइत भइ –६ मा विहे गरेर सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महताराको निस्सासिएर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारको क्रममा निधन भएको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विश्व श्रेष्ठले बताए। ’मृत्यु हुने महिला सुत्केरी भएको १२ दिन भएको थियो,’ उनले भने, ’धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ दिने दूधे बच्चा पनि घाइते छन्।’

उनका अनुसार बच्चालाई एनआइसीयूमा राखेर उपचार थालिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीका अनुसार सुत्केरी महतारालाई अस्पताल पुर्‍याएको केही समयमै निधन भएको हो।

तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि प्रतिष्ठान लगिएको थियो। ’उनीहरू दुई तले घरमा बस्दा रहेछन्। सुत्केरी भएकाले तेलमा मेथी र आगो बालेको पाइएको छ।’ उनले भने, ’हिजो आफन्तहरूको पनि जमघट भएको रहेछ। राति ११ बजे श्रीमान र सासू माथिल्लो कोठामा सुतेछन्।’

प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको पाइएको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै रहेको पाइएको छ। मृतक महतारा र बहिनी रोकाया तल्लो कोठामा सुतेका मृतकका आफन्त तथा नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले बताए। ’सोमबार विहान भने अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेपछि बल्ल घटना थाहा भएको हो,’ उनले भने, ’अब पोष्टमार्टम रिपोर्ट आएपछि के भएको हो भनी थाहा हुन्छ।’