☰ open Loading... 19 September 2024|  

गञ्जीमै मन्त्रालयमा मन्त्री मनाङे
पश्चिम नेपाल   | ११ श्रावण २०८१, शनिबार १६:४०

गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री छन् ।

खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्‍याएका छन् ।

सरकार संकटमा परेपछि भौतिक पूर्वाधारमन्त्री बनाएका पाण्डेले फेरि पनि मनाङेलाई सोही मन्त्रालय दिएका छन् ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि सधैं चर्चामा छन् ।

पछिल्लोपटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् ।

केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् ।

मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् ।

शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरे ।