☰ open Loading... 23 November 2024|  

एक वर्षमा कर्णालीबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात
पश्चिम नेपाल   | १५ श्रावण २०८१, मंगलवार ०९:१५

आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रकम बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको तथ्याङ्क सार्वजनिक गरिएको हो।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) रु दुई अर्ब २६ करोड ६७ लाख ११ हजारको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिए। त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) रु एक अर्ब ८४ करोड ९० लाख ७० हजारको निर्यात गरिएको उनले बताए।

कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्याङ्कअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार सङ्कलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिए। यसैगरी गत आवमा छ बैंक तथा आठ सहकारीबाट रु ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले रु तीन करोड ४० लाख २३ हजार ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका नौ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उनले जानकारी दिए।