☰ open Loading... 20 September 2024|  

कर्णालीमा सधैँ आयातित प्रदेश प्रमुख
पश्चिम नेपाल   | १४ श्रावण २०८१, मंगलवार २१:०७

कर्णाली प्रदेशमा अहिलेसम्म चार जना प्रदेश प्रमुख बने । त्यसमा तीन जना प्रदेश बाहिरका प्रमुख बने । पहिलो पटक ०७४ मा कांग्रेसको कोटाबाट प्रदेश प्रमुख बनेका दुर्गाकेशर खनाल बाहेक त्यसपछि नियुक्त भएका गोविन्दप्रसाद कलौनी, तिलक परियार र अहिलेका यज्ञराज जोशी प्रदेश बाहिरका हुन् ।

खनाल सुर्खेत वीरेन्द्रनगर निवासी हुन् । ०७६ कार्तिक ७ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे । पछि केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएर ०७५ कार्तिक १८ गते एमाले नेता गोविन्द प्रसाद कलौनीलाई प्रदेश प्रमुख नियुक्त गर्‍यो ।

उनी सुदूरपश्चिमको कञ्चनपुरका हुन् । बैतडीमा जन्मेका कलौनीले डडेल्धुरा र कञ्चनपुरलाई कार्यथलो बनाइ राजनीति गरेका थिए । कलौनी ०७८ कार्तिक २३ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे ।

त्यसपछि नेकपा माओवादीको कोटाबाट प्रदेश कर्णालीको प्रदेश प्रमुख भएर लुम्बिनी प्रदेशको बाँकेका तिलक परियार आए ।

अहिले उनलाई हटाएर फेरि कञ्चनपुरकै यज्ञराज जोशीलाई प्रदेश प्रमुख बनाइयो । प्रदेशभित्र प्रदेश प्रमुखका लागि योग्य पात्र प्रशस्त रहे पनि प्रदेश बाहिरबाट आयातित भइरहेको भन्दै कर्णालीमा आलोचना भइरहेको छ ।

सुर्खेतका एक प्रतिष्ठित व्यापारी चिन्तामणि शर्माले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रदेश प्रमुख फेरि पनि आयातित, कर्णालीमा योग्य मानिस भेटिएनछ ? आयातित प्रदेश प्रमुख मान्दैनौँ भन्ने अभियान सुरु गरौँ ।

रातोपाटीबाट