☰ open Loading... 20 September 2024|  

भेटियो लोपोन्मुख अजिङ्गर
पश्चिम नेपाल   | १५ श्रावण २०८१, बुधबार ११:३६

सल्यानमा लोपोन्मुख अजिङ्गर फेला परेको छ । कालिमाटी गाउँपालिका-५ दम्दवाली नजिकै त्रिबेणी सामुदायिक वनको कुईयापानी भन्ने ठाँउमा लोपोन्मुख अजिङ्गर भेटिएको हो ।

जीवित भेटिएको लोपोन्मुख अजिङ्गरको लम्बाई १५ फिट र तौल ४५ किलो रहेको स्थानीय सुरेश गाहा मगरले बताए । सिंगो जनावर खाएको अवस्थामा भेटिएको अजिङ्गरको नेपाली सेना र बाँके राष्ट्रिय निकुन्जको टोली आएर उद्धार गरेको छ ।

मगरका अनुसार निकुन्जबाट आएको टोलीले जीवित अजिङ्गर बाँके राष्ट्रिय निकुन्जमा छाड्न लगेका छन् । विगतमा कालिमाटीको जंगलमा अजिङ्गर पाइन्छ भन्ने सुनेपनि पहिलो पटक देखिएको स्थानीयबासीहरुले बताएका छन् । बाँके राष्ट्रिय निकुन्जका एक सुरक्षाकर्मीले भने उद्धार गरिएको अजिङ्गर परम्परागत बासस्थानमा छाड्ने तयारी गरेको बताए ।

अजिङ्गर कहाँबाट आयो भन्ने खासै जानकारी नभएको र स्थानीयले घाँसदाउरा गर्ने क्रममा जंगलमा देखेर निकुञ्जलाई खबर गरेका उनले बताए ।