☰ open Loading... 20 September 2024|  

जुम्लामा चट्याङ लागेर १२९ भेडा मरे
पश्चिम नेपाल   | १५ श्रावण २०८१, बुधबार २१:२४

जुम्लाको तिला गाउँपालिका-७ स्थित देउली पाटनमा चट्याङका कारण १२९ भेडाहरू मरेका छन्। मंगलबार दिउँसो चराइराखेको समयमा चट्याङ पर्दा १७ जना किसानका एक सय २९ भेडा मरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक असिम हमालले कुल ८३१ भेडाबाख्रा पाटनमा लगिएकोमा चट्याङका कारण १२९ वटा भेडा मरेको जानकारी दिएका छन्। ५६ वर्षीय लालसिंह रोकाया र २५ वर्षीय बीरबहादुर रोकाया चट्याङमा परेर घाइते भए पनि उनीहरूको अवस्था सामान्य रहेको छ।

चट्याङले एकै पटक यति धेरै भेडा मरेपछि किसानहरू चिन्तित बनेका छन्। गाउँदेखि पाटन झण्डै १० घण्टाको पैदल दुरीमा पर्ने भएकाले यकिन विवरण आउन ढिलाइ भएको थियो। प्रहरी चौकी रारालिहीको टोली मंगलबार नै घटनास्थलतर्फ प्रस्थान गरेपनि बुधबार बिहान मात्रै पुगेर मुचुल्का बनाएको थियो।

सामान्यतया हिउँदमा गाउँमै भेडापालन गरिए पनि बर्षायाममा पाटनमा भेडा चराउन लाने चलन छ। तिला-७ पोख्रीका भीम बहादुर रोकाया, लालसिंह रोकाया, काली बहादुर रोकाया, बीरबहादुर रोकाया, बल बहादुर रोकाया, काली बहादुर बोहोरा, नैने बुढा र राम बहादुर रोकाया लगायत १७ जना किसानहरूले पाटनमा भेडाबाख्रा चराउन लगेका थिए।

प्रहरी टोली घटनास्थल पुगेर फर्किएको छ। किसानहरूले चट्याङका कारण भेडापालनमा ठूलो क्षति पुगेकोले उचित राहतको माग गरेका छन्। यसअघि गत असार २० गते जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, मालिकाबोता स्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा पनि ५४ भेडा मरेका थिए।