☰ open Loading... 20 September 2024|  

बिच भलिबलमा महिला टोलीलाई सफलता
पश्चिम नेपाल   | १७ श्रावण २०८१, शुक्रबार ०८:२३

भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाली महिला टोलीलाई सफलता मिल्दा पुरुष टोलीले भने निराशाजनक नतिजा हात पारेको छ।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार भएको पहिलो खेलमा कमला पुन र मनीषा चौधरीको जोडीले उज्बेकिस्तानविरुद्ध २–० को सोझो सेटमा जित हासिल गर्‍यो। उक्त जोडीले उज्बेकिस्तानविरुद्ध पहिलो सेटमै २१–१७ को सहज जित हासिल गरेको थियो। दोस्रो सेटमा पनि नेपाल २१–१५ ले सहजै विजयी भयो।

पुरुषतर्फ भने सोही नतिजामा माल्दिभ्ससँग नेपाल पराजित भयो। मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले पहिलो सेट १६–२१ ले गुमाएको थियो। दोस्रो सेटमा पनि नेपालले खेलमा पुनरागमन गर्न सकेन। र, १५–२१ ले सेट गुमायो। प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ सात टोलीको सहभागिता रहेको छ। पुरुषमा आयोजक भुटान र नेपालसहित माल्दिभ्स, उज्बेकिस्तान र तुर्कमेनिस्तान सहभागी छन्।नेपालबाहेक अन्य राष्ट्रबाट दुई टोलीले प्रतियोगिता खेल्नेछन्। महिलामा भुटान र नेपालसहित माल्दिभ्स र उज्बेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। दुई वर्षअगाडि बंगलादेशको कक्स बजारमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मानबहादुर र दिलबहादुर तथा महिलामा कोपिला उप्रेती र कमलाको जोडीले नेपाललाई रजत पदक दिलाएका थिए।