☰ open Loading... 19 September 2024|  

राजश्व सङ्कलनको नाममा प्रदेशबाट छुट्टै प्रहरी परिचालन
पश्चिम नेपाल   | १९ श्रावण २०८१, आईतवार ११:३०

कर्णाली छिर्ने प्रमुख नाका बबईमा राजश्व सङ्कलनको नाममा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट छुट्टै प्रहरी परिचालन गरिएको छ।

प्रदेशबाट छुट्टै प्रहरी परिचालन भएसँगै यातायात व्यवसायीहरू पीडित भएका छन्। उनीहरूले चेकजाँचको नाममा अनावश्यक प्रहरीले दुःखदिने गरेको आरोप लगाइरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट असईको कमाण्डमा प्रहरी तैनाथ छन् भने जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट हवल्दारको कमाण्डमा ट्राफिकले दैनिक रुपमा नाकामा काम गरिरहेको भएपनि राजश्व सङ्कलनको नाममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) अर्जुन चन्दको निर्देशनमा प्रदेशबाट दुई जना प्रहरी खटिएर दैनिक चेकजाँचको नाममा बबईमा गाडी रोकेर दुःख दिने गरेको व्यवसायीहरूको आरोप छ।

जिल्लाबाट खटिएका प्रहरी टोली हुँदाहुँदै प्रदेशबाट एक्कासी हस्तक्षेप गरेर प्रहरी पठाएपछि यातायात व्यवसायीहरूले दुःख पाउन थालेको आरोप लगाएका हुन्।

अनावश्यक रुपमा प्रदेशबाट गएका प्रहरीले गाडी रोकेर समय लिने गरेको जसले गर्दा टाँढा जाने यात्रुहरू बिचल्लीमा पर्ने गरेको यातायात व्यवसायीले बताएका छन्।

यातायात व्यवसायीहरूले प्रदेशबाट गएको टोलीले बबईमा चेकजाँचको नाममा दुःख दिईरहेको गुनासो गरेको सुर्खेत काँक्रेविहार यातायात समितिका अध्यक्ष रमेश सापकोटाले बताए। ‘आइतवार डिआइजीसँग बसेर व्यवसायीहरूले उठाएको गुनासोको बारेमाछलफलगछौं।’ अध्यक्ष रमेश सापकोटाले भने, ‘सिडिओ साबसँग बसेर गरेको भएको सहमति विपरित हिजाआज प्रदेशबाट खटिएका प्रहरीले व्यवसायीलाई दुःखदिने काम भएकाले हाम्रो आपत्ति रहेको छ।’

सम्झाई बुझाई नगरिकन एकै चोटी जरिवाना गर्ने खालका गतिविधि कुनैपनि हिसाबले राम्रो नभएको अध्यक्ष सापकोटको भनाइ छ। ‘लोकलदुई चार जना स्थानीयहरू यात्रुहरू हाल्दा समेत व्यवसायीले दुःख पाएका छन्।’ अध्यक्ष सापकोटाले भने, लोकल यात्रुका लागि छुट्टै गाडी छैन। भोलिका दिनमा लोकल यात्रुको जिम्मा कसले लिन्छ? नियमको नाममा व्यवसायी सताउने काम भईरहेकोप्रति हाम्रो आपत्ति छ।’

राजश्य सङ्कलनमा सहज होस् भनेर प्रदेशबाट थप प्रहरी बबईमा पठाईएको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) अर्जुन चन्दले बताए। ‘त्यहाँ भएका प्रहरीलाई सहयोग गर्नेगरी प्रदेशबाट प्रहरी पठाएका हौँ,’ डिआईजीचन्दले भने, ‘राजश्व सङ्कलन गर्ने उद्देश्य भएकाले खराब प्रवृत्तिका व्यवसायीहरू डराएका हुनसक्छन्।’

त्यस्तै डिआईजी चन्दले बबईमा रहेका प्रहरीबाट चेकजाँचको विश्वास नभएर राजश्व उठाउन आफूले प्रदेशबाट प्रहरी खटाएको समेत घुमाउरो रुपमा बताए।