☰ open Loading... 19 September 2024|  

कर्णाली सरकारमा कांग्रेस सहभागी
पश्चिम नेपाल   | १९ श्रावण २०८१, आईतवार १७:०७

केन्द्रमा दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिको एक महिनापछि कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भएको छ।

प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस एमाले नेतृत्वको सरकारमा चार मन्त्रालयसहित सहभागी भएको हो। आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा सिंचाई विकास मन्त्रालय कांग्रेसले लिएको छ।

आइतबार आर्थिक मामिलामा जाजरकोटका राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा दैलेखका घनश्याम भण्डारी, उद्योगमा सल्यानका सुरेश अधिकारी र जलस्रोतमा हुम्लाकी विजया बुढाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका थिए। शपथ लगत्तै मन्त्रालयमा पुगेर उनीहरुले पदभार ग्रहण पनि गरेका छन्। कांग्रेसले यस पटक पठाएका सबै मन्त्रीहरु ५० वर्षमुनिका छन्।

कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले एमाले नेतृत्वको सरकारमा युवाहरुलाई स्थान दिइएको बताए। ‘सरकारमा सहभागी भएर राम्रो काम गर्न सक्ने युवाहरुलाई कांग्रेसले स्थान दिएको छ,’ विष्टले भने, ‘जनअपेक्षा अनुसार सरकारमा रहेर उत्कृष्ट काम गर्ने अपेक्षा गरेका छौं।’

सरकारमा सहभागी हुन लागेका शाह कांग्रेस केन्द्रीय सदस्य हुन्। संविधानसभा सदस्य रहिसकेका उनी पहिलो पटक मन्त्री बन्दैछन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्न लागेका अधिकारी स्थानीय तहको नेतृत्व गरिसकेका व्यक्ति हुन्।

उनी सांसद हुनुअघि सल्यानको शारदा नगरपालिकाको नगर प्रमुख थिए। जलस्रोत तथा ऊर्जा विकास मन्त्री बनेकी बुढा हुम्लाको खार्पुनाथ गाउँपालिकाकी हुन्। लामो समय गाउँमा सामाजिक परिचालक रहेकी उनी पहिलो पटक मन्त्री बन्न लागेकी हुन्।

शहिदपुत्र बने मन्त्री

सामाजिक विकास मन्त्री भण्डारी शहिदपुत्र हुन्। सशस्त्र द्वन्द्वका बेला २०७९ असोज १२ गते तत्कालीन विद्रोही माओवादीले भण्डारीका पिता पूर्णबहादुरको हत्या गरेका थिए।

२०४० सालमा जन्मेका भण्डारी बुवाको हत्यापछि राजनीतिमा होमिएका थिए। भण्डारीले राजनीतिलाई व्यक्तिगत लाभको खोजीमा नभई समाजलाई उज्यालो बनाउने माध्यमका रुपमा लिएको बताए।

‘राजनीति निःस्वार्थ समाजको सेवाका लागि हो,’ उनले भने, ‘राजनीतिलाई सामाजिक रूपान्तरणको औजार लिएर काम गर्नेछु।’

भण्डारीसँग स्थानीय तहको नेतृत्व गरेको अनुभव पनि छ। उनले दूल्लु नगरपालिकाको मेयरका रुपमा पाँच वर्ष स्थानीय तहको नेतृत्व गरेका थिए। सार्वजनिक पूर्वाधार निर्माण, सरसफाई, गरिबी निवारण कार्यक्रम र सामुदायिक सशक्तीकरण परियोजनाहरूमा उनको भूमिका महत्त्वपूर्ण थियो।

पत्रकारिता पृष्ठभूमिका भण्डारी नेपाल प्रेस युनियन दैलेखको संस्थापक अध्यक्ष हुन्। नेपाल पत्रकार महासंघ दैलेख शाखाको सचिव भइसकेका उनले धमाका दैनिक हुँदै द्रोणाचल साप्ताहिक, रेडियो दुल्लू, मध्यपहाड मासिक पत्रिकासम्म निकालेका थिए।

सङ्घीय राजधानीबाट प्रसारण हुने टेलिभिजन र पत्रिकामा जिल्ला संवाददाताको रुपमा काम गरिसकेका उनले सामुदायिक वन र विद्यालय व्यवस्थापन समितिको पनि नेतृत्व सम्हालेका छन्।

भण्डारीले मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। १७ असारको मध्यरात कांग्रेस–एमालेबीच भएको सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व हाललाई एमालेले गर्ने उल्लेख थियो। सोही सहमति अनुसार संसद्को तेस्रो दल एमालेको नेतृत्वमा कांग्रेस सहभागी भएको हो।