☰ open Loading... 20 September 2024|  

बंगलादेशमा प्रधानमन्त्री निवास छिरे प्रदर्शनकारी, हसिनाले छाडिन् देश
पश्चिम नेपाल   | २० श्रावण २०८१, सोमबार १६:५७

बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन्।

हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरी हसिनाको राजीनामा माग गरेका थिए।

आरक्षणविरूद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री हसिनाले सरकारी निवास छाडेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

स्रोतहरूका अनुसार, शेख हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट विमान चढेर देश छोडेका हुन्। हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने प्रयास गरे पनि सफल हुन सकेन।

बीबीसी बाङ्ग्लाका अनुसार, ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो। बाङ्ग्लाभाषाको पत्रिका ‘प्रोथोम आलो’ को अनलाइन संस्करणका अनुसार, प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले ‘साउन्ड ग्रिनेड’ र अश्रुग्यास प्रहार गरेको थियो।

ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार, जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु भएको छ।

उसका अनुसार सरकारविरोधी आन्दोलनका क्रममा आइतबारमात्रै कम्तीमा ९० जनाको मृत्यु भएको थियो। यसै घटनाको भोलिपल्ट, सोमबार, राजधानी ढाकाको उत्तरा क्षेत्रमा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका थिए। सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल पनि गरेका थिए।

जुलुस हिंसात्मक बन्न सक्ने आशङ्कामा ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको छ।

ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिएका छन्। प्रदर्शनकारी र प्रहरीबीच आइतबार ठाउँठाउँमा भिडन्त भएको थियो। अनिश्चितकालीन कर्फ्यू लागे पनि सोमबार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिएको छ।