☰ open Loading... 20 September 2024|  

बंगलादेशमा सैनिक शासन लागू
पश्चिम नेपाल   | २० श्रावण २०८१, सोमबार १७:०९

बंगलादेशमा सैनिक “कु” भए पश्चात प्रधानसेनापति वाकर उज-जमानले देशको शासन व्यवस्थामा परिवर्तनको घोषणा गरेका छन्।

देशवासीका नाममा जारी सन्देशमा उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र अन्तरिम सरकार गठन हुने जानकारी दिएका हुन्।

“हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ। हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ। हामीलाई विश्वास गर्नुहोस्,” उनले भने।

सरकारी जागिरमा आरक्षणको खारेजीको माग गर्दै विद्यार्थीहरूको आन्दोलन चर्किएपछि शेख हसिनाले सोमबार देश छाडेकी थिइन्। प्रधानसेनापतिले देशवासीलाई धैर्य गर्न आग्रह गरेका छन्।

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो।

सेनाप्रमुखले हसिनाले देश छाडेपछि देशवासीलाई सेनालाई विश्वास गर्न आग्रह गरेका छन्। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन्।

सेनाप्रमुखले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको र आजसम्म एउटा “समाधान निस्किने” अपेक्षा व्यक्त गरेका छन्। यद्यपि, कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ।