☰ open Loading... 20 September 2024|  

कर्णालीमा मुख्यमन्त्रीले पाए विश्वासको मत
पश्चिम नेपाल   | २० श्रावण २०८१, सोमबार २१:१८

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री कँडेललाई कांग्रेस, एमाले र राप्रपा सांसदले मत दिएका थिए। ४० सदस्यीय प्रदेशसभामा सोमबार संसदमा ३७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री कँडेलले २३ मत प्राप्त गरे भने विपक्षमा १४ मत रह्यो।

कर्णाली प्रदेशसभामा पाँच राजनीतिक दलको प्रतिनिधित्व छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १५ सांसद छन् भने प्रमुख प्रतिपक्षीमा रहेको माओवादी केन्द्रका १३ सांसद छन्। सरकारको नेतृत्व गरिरहेको एमालेसँग १० सांसद छन् भने एकीकृत समाजवादी र राप्रपाका एक–एक सांसदको प्रतिनिधित्व कर्णाली प्रदेशसभामा छ।

केन्द्रमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबिच असार १७ गते मध्यराति भएको सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ। एमाले नेतृत्वको सरकारमा आइतबार चार मन्त्रालयसहित कांग्रेस सहभागी भएको थियो।