☰ open Loading... 19 September 2024|  

वडाध्यक्षको खोजीदिन आग्रह
पश्चिम नेपाल   | २१ श्रावण २०८१, मंगलवार ११:०९

वडाध्यक्ष अमेरिका पलायन भएपछि वडाबासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन्।

२०७९ वैशाख २० गतेको स्थानीय तह निर्वाचनमा खोटाङको साकेला गाउँपालिका ४ मात्तिमका वडाध्यक्षमा निर्वाचित अर्जुनकुमार कटुवाल अमेरिका पलायन भएपछि वडाबासीले ज्ञापनपत्र बुझाएका हुन्। जनताद्वारा चुनिएका वडाध्यक्ष कटुवाल अमेरिका गएको लामो समयसम्म गाउँ नफर्केपछि उनको खोजी गरीपाउँ भन्दै वडाबासीले गाउँपालिकालगायत विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन्।

वडाबासीले सोमबार गाउँपालिकामा बुझाएको ज्ञापनपत्रमा निर्वाचन आयोगदेखि प्रशासन र अन्य निकायलाई पनि बोधार्थ दिइएको छ। लामो समयदेखि वडाअध्यक्ष नहुँदा नागरिकले पाउनुपर्ने सेवा सुविधा लिन नपाएर दुःख भोग्नु परेको भन्दै मात्तिमबासीले आफुकहाँ ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए। अध्यक्ष जितेको केही समयपछि नै कुम्लो कुटुरो बोकेर परिवारसहित सुनसरीको इटहरी बसाई सरेका कटुवाल त्यसपछि अमेरिका गएका थिए।

उनको अनुपस्थितिमा एकजना सदस्यलाई कार्यवाहक वडाध्यक्षको अधिकार दिएर वडा सञ्चालन गरिदै आाएको छ। वडाध्यक्ष पद प्रत्यक्ष नागरिकको अधिकार र सेवाशर्तसँग जोडिएको पद भएकाले नियमित रुपमा वडा बसेर सेवा गर्नुपर्ने हुन्छ। कार्यवाहकलाई काम चलाउ मात्र अधिकार हुने भएकाले महत्वपूर्ण योजना र विकास निर्माणका कार्यमा पनि वडाध्यक्षको अनुपस्थितिले नागरिकका लागि दूरगामी र प्रतिकुल प्रभाव पार्ने वडाबासीको गुनासो छ।

स्थानीयले तत्काल वडाध्यक्षको रिक्तस्थान पूर्तिको माग पनि ज्ञापनपत्रमार्फत गरेका छन्। सोही वडाका पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडाबासी जनताको समस्याप्रति यसरी गैरजिम्मेबार भएर बस्ने वडाध्यक्षलाई तत्काल कारबाही गरी मार्ग प्रसस्त गर्नुपर्ने बताए। वडाध्यक्ष कटुवाल जनताप्रति उत्तरदायी नभएको पाइएपछि आफ्नै संयोजकत्वमा सर्वदलीय वैठक बसी ज्ञापनपत्र बुझाएको पनि भट्टराईले बताए।

‘वडाध्यक्ष कटुवाल नभएका कारण हामी नागरिक अत्यन्त मारमा परेका छौं, नागरिक्ताको सिफारिसदेखि विभिन्न विकास निर्माणका कार्यमासमेत गम्भीर असर परेको छ’ पूर्व वडाध्यक्ष भट्टराईले भने ‘यसरी नागरिकलाई दुख पाउने गरी गैरजिम्मेबार भएर विदेश भासिने वडाध्यक्षको विकल्प तत्काल खोज्नु पर्छ।’ उनीजस्तै अन्य वडाबासीको पनि कटुवालको बिकल्पको लागि बाटो खुल्ला गर्नुपर्ने धारणा छ।

कटुवालले मतदाता नागरिकप्रति अन्याय गरिरहेको र नेपालको संविधानविपरित गैरजिम्मेवार बनेर अमेरिका बसेको विषयमा सम्बन्धित निकायले १५ दिनभित्र समाधान नगराए सम्पूर्ण वडाबासी कडा संघर्षमा उत्रने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ। कटुवाल ०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित रहेको स्थानीयले बताएका छन् तर, सेवा सुविधा भने उपभोग गरिरहेको आरोप स्थानीयको छ।

ज्ञापनपत्रमा पूर्व वडाध्यक्ष भट्टरार्ई, वुद्धिजीवी गोपिकृष्ण खड्का, महिला वुद्धिजीवि सरिता खड्का, नेपाली काँग्रेस प्रतिनिधि बबिन कटुवाल, एमाले प्रतिनिधि टेकबहादुर कटुवाल, नेकपा माओवादी केन्द्र प्रतिनिधि युवराज दुलाल, जसपा प्रतिनिधि शिवप्रसाद फुयाल, नेकपा एकीकृत समाजवादीका मनोज खड्का, सामाजिक अगुवाहरु जीवन श्रेष्ठ, यामकुमार खड्का लगायत ५३ जनाको हस्ताक्षर रहेको छ।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष राईले स्थानीय सरकार सञ्चालन ऐन, मौजिदा कानुन र निर्वाचन ऐन अनुसार उत्तम विकल्पको खोजी गर्ने आश्वासन दिएका छन्। जननिर्वाचित प्रतिनिधि गैरजिम्मेबार हुदा नागरिकले दुःख पाउनु अत्यन्त गलत भएको भन्दै नागरिकको हितमा केन्द्रित भएर निर्णय गर्न आफु र सरोकारवाला निकायसमक्ष पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष राईले जनाएका छन्।