☰ open Loading... 19 September 2024|  

बागलुङ पहिरो: मृत्यु हुनेको संख्या ८ पुग्यो
पश्चिम नेपाल   | २१ श्रावण २०८१, मंगलवार १६:२६

बागलुङको बडिगाडमा पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ८ पुगेको छ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार बडिगाड-१० मा ६ जना र बडिगाड-९ मा २ जनाको पहिरोका कारण मृत्यु भएको हो।

गए रातीदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले पुरिएर ७ वर्षकी मालती बुढा, ७ वर्षकै मधु बुढा, सञ्जु विककी ६ महिने छोरी, झण्डै १३ वर्षका मनोज बुढा, सोही उमेर समूहका अमन बुढा र ५९ वर्षकी मैतीदेवी विकको मृत्यु भएको हो।

त्यसैगरी, बडिगाड-९ मा आएको पहिरोले १५ वर्षका विधान परियार र वर्ष २४ को गंगा बस्नेतको मृत्यु भएको छ।

बडिगाड-१० को पहिरोमा परी ४६ वर्षीय संगिता बुढा, ५९ वर्षीय सुमित्रा विक, ३२ वर्षीय  सीता थापा र ४२ वर्षका मंगलसिंह विक गम्भीर घाइते भएका छन्।

मृतक तथा घाइतेहरूको उद्धार कार्य चलिरहेको छ। गम्भीर घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि पठाउन नेपाली सेनाको हेलिकप्टर ल्याउन समन्वय भइरहेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन।