☰ open Loading... 19 September 2024|  

बिहानैदेखि यी प्रदेशमा वर्षा
पश्चिम नेपाल   | २२ श्रावण २०८१, बुधबार ०९:०१

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको बताएको छ।

महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।