☰ open Loading... 19 September 2024|  

बाँकेमा राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न पाइने
पश्चिम नेपाल   | २६ श्रावण २०८१, आईतवार २१:२२

रात्रिकालीन/पूर्ण समयमा होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनका लागि पहिलो पटक बाँकेमा मापदण्ड निर्माण गरिएको छ। जिल्लामा सञ्चालित रात्रिकालीन होटेल तथा मनोरञ्जनात्मक व्यवसायलाई व्यवस्थित तथा मर्यादित व्यवसायको रूपमा विकास गर्ने उद्देश्यले यो मापदण्ड निर्माण गरिएको हो।

मापदण्ड निर्माण भई कार्यान्वयनमा समेत आइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसभन्दा अघि राति ११ बजेसम्म मात्र होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन हुँदै आएका थिए। अब यसलाई बढाएर १२ सम्म पुर्‍याइएको छ।

सुरक्षाको दृष्टिले संवेदनशील मानिने बाँकेमा सुरक्षा समितिको निर्णयअनुसार समय निर्धारण गरिएको हो। राति १२ सम्म सञ्चालन गर्दा सुरक्षा चुनौतीमा जोखिम आए अर्को निर्णयसमेत हुन सक्ने जिल्ला सुरक्षा समितिले जनाएको छ।

व्यवसायसँग अन्तरसम्बन्धित क्रियाकलाप र संलग्न हुने सञ्चालक, श्रमजीवी, कर्मचारी तथा कामदार, सेवाग्राहीका साथै सरोकारवाला निकायको भूमिका एवम् कार्यलाई मापदण्ड निर्धारण गरी व्यवस्थित एवम् जिम्मेवार बनाउन व्यवसायको अनुगमन तथा नियमन गर्न वाञ्छनीय भएकाले गृह मन्त्रालयको पूर्ण समयमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि २०७९ को अधीनमा रही जिल्ला सुरक्षा समितिले मापदण्ड बनाएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

रात्रिकालीन/पूर्ण समयमा व्यवसाय सञ्चालन गर्दा समितिको सिफारिसमा स्थानीय प्रशासनले तोकेको समयमा मात्र सञ्चालन गर्नुपर्नेछ। ‘कुनै पनि व्यवसायीले प्रशासनले तोकेको रात्रिकालीन समयबाहेकको समयमा व्यवसाय सञ्चालन गर्नुपर्दा जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात संलग्न गरी निवेदन दिनुपर्दछ,’ उक्त मापदण्डमा भनिएको छ, ‘निवेदन प्राप्त भएपछि मापदण्ड पूरा भए/नभएको सन्दर्भमा अनुसूची २ मा उल्लिखित सूचकहरूको आधारमा स्थलगत रुपमा अनुगमन गरी कुनै व्यवसाय वा एकै प्रकृतिका व्यवसाय भएका कुनै क्षेत्रमा अनुगमन प्रतिवेदनका आधारमा स्थानीय प्रशासनले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिन सक्नेछ र सोको अभिलेख जिल्ला प्रशासन कार्यालयमा रहनेछ।’

रात्रिकालीन/पूर्ण समयमा मनोरञ्जनात्मक व्यवसाय सार्वजनिक सदाचार र नैतिकताको आधारभूत मूल्य र मान्यता प्रतिकूल नहुने गरी सञ्चालन गर्नुपर्नेछ र त्यस्ता व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुनमा तोकिएको व्यवस्थाअनुसार गर्नुपर्ने मापदण्डमा जनाइएको छ।