☰ open Loading... 20 September 2024|  

मकैबाली जंगली जनावरले नष्ट
पश्चिम नेपाल   | २७ श्रावण २०८१, सोमबार ०६:१८

दाना लाग्न नपाउँदै मकैबाली जंगली जनावरले नष्ट गर्न थालेपछि सल्यानका किसान चिन्तित बनेका छन्। वनजंगलनजिकका बस्तीमा किसानले लगाएका मकै तथा अन्य बालीनालीमा क्षति पुर्‍याउन थालेपछि किसान चिन्तित बनेका हुन्।
मिहिनेतका साथ हुर्काएको मकै रातको समयमा आएर बँदेलले क्षति गरेपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छत्रेश्वरी गाउँपालिका– ५ का देवीलाल भण्डारीले बताए। उनले भने, ‘पहिलेदेखि नै बाँदरले सताउने गर्थ्याे, खरायो, दुम्सीले पनि बालिनाली खाइदिन्थ्यो। यो वर्षदेखि मेरो बारीमा बँदेलले पनि क्षति गर्न थाल्यो।’ यो वर्ष आफ्नो ६ वटा बारीमा मकै रोपेकोमा मकैमा घोगा लाग्न नपाउदै बँदेलले क्षति सुरु गरिसकेको उनको भनाइ छ।

जंगली जनावरले बारीमा लगाएको सबै बालीनाली सखाप पार्न थालेको अर्की किसान संगीता बस्नेतले बताइन्। मुख्य बाली मकैमा बँदेलले नोक्सानी पुर्‍याएपछि उनले वडामा पुगेर क्षतिपूर्तिका लागि माग गरेकी छिन्। आफूहरूले बर्सेनि भोग्ने समस्याको दीर्घकालीन समाधानको माग गरेको उनले बताइन्।

प्रहरी मुचुल्का, कृषि विकास शाखाको क्षतिको मूल्यांकन, वडाको सिफारिसलगायतका आधारमा डिभिजन वन कार्यालयमार्फत १० हजार रुपैयाँसम्म किसानले राहत प्राप्त गर्ने गरेको सबडिभिजन वन कार्यालय छत्रेश्वरीका फरेस्टर कमल बोहराले जानकारी दिए।

कृषि बालीमा जनावरले क्षति गरेमा नजिकैको प्रहरीबाट सर्जिमिन मुचुल्का, कृषि प्राविधिकको क्षति मूल्यांकनसहित जग्गा धनीपुर्जा, नागरिकता, क्षतिको फोटोसहित सबडिभिजन वन कार्यालयमा पीडित किसानले निवेदन दिएपछि उक्त फाइल डिभिजन वन कार्यालय सल्यान हुँदै प्रदेश वन निर्देशनालय सुर्खेतले संघीय मन्त्रालयमा पेस गरेर बजेट व्यवस्था भएपछि मात्र क्षतिको आधारमा यससम्बन्धी कार्यविधिबमोजिम १० हजार रुपैयाँसम्म राहत उपलब्ध हुने गरेको बोहराको भनाइ छ ।