☰ open Loading... 20 September 2024|  

२३ वर्षीय युवकको ४९ वर्षीया महिलासँग प्रेम, विवाहको प्रस्तावपछि हत्या !
पश्चिम नेपाल   | २७ श्रावण २०८१, सोमबार १२:०३

रुकुम पश्चिममा २३ वर्षीय युवकसँग प्रेम सम्बन्धमा रहेकी ४९ वर्षीया महिलाको हत्या भएको छ । विवाहको प्रस्ताव गरेपछि प्रेमीले नै ती महिलाको हत्या गरेका हुन् ।

मृत्यु हुनेमा सानोभेरी गाउँपालिका–४, लामचौरकी सुशीला मल्ल रहेकी छिन् । नेपाल प्रहरीका अनुसार सुशीलाको उनकै प्रेमी चौरजहारी नगरपालिका–११ माथिल्लो सर्केना बस्ने प्रेम मल्लले हत्या गरेका हुन् ।

प्रेमले साउन २२ गते दिउँसो १२ बजेतिर सुशीलाकै कोठामा फलामको तावा, सिलौटोलगायतका घरेलु औजारको प्रयोग गरी घाइते बनाएर घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार हत्या आरोपमा मल्ललाई प्रहरीले साउन २५ गते उनकै घरबाट पक्राउ गरेको थियो । आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ ।

अनुसन्धानका खटिएका एक प्रहरी अधिकृतका अनुसार प्रेम र सुशीला डेढ वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । युवक अविवाहित हुन् भने महिला भने विवाहित थिइन् ।

सुशीलाका तीन वटा छोरा छन् भने श्रीमान्को १८ वर्षअघि नै मृत्यु भइसकेको छ । एकल महिला रहेकी सुशीला ‘माता’को नामले समेत परिचित रहेको ती अनुसन्धान अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीका अनुसार प्रेम र सुशीलाबिच डेढ वर्षअघि जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई नम्बर आदानप्रदान भएको थियो । बेलाबेला भेटघाट भइरहने हुँदा उनीहरूको सम्बन्ध अन्य व्यक्तिलाई पनि बिस्तारै थाह हुँदै गयो ।

साउन २१ गते प्रेम सुशीलालाई भेट्न चौरजहारीबाट लामाचौर पुगेका थिए । सो राति प्रेम सुशीलाकै घरमा बसेको प्रहरीको भनाई छ ।

बिहानै प्रेम रिम्ना बजार गएर दिउँसोभरि घुमफिर गरेको देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । साँझ प्रेम सुशीलाकै घरमा आएर बसे ।

सो रात सुशीलाले प्रेमलाई प्रस्ताव गरिन्– हाम्रो सम्बन्धबारे गाउँघरका सबै मानिसलाई थाहा भइसक्यो, तिमीले मलाई विवाह गर !

अनुसन्धानमा खटिएका प्रहरी अधिकृत भन्छन्, ‘त्यसपछि प्रेमले सुशीलालाई आफू अहिले विवाह गर्न सक्ने अवस्था नभएको जानकारी गराएका थिए ।’

सुशीलको प्रस्तावपछि अत्तालिएका उनले हत्या गर्ने योजना बनाए । ‘त्यसपछि प्रेमले सुशीलाको हत्या गरेको देखिन्छ,’ ती अधिकृतले भने ।

घटना पश्चात् प्रेमले सुशीलाको मोबाइलसमेत साथमा लिएर आफ्नो घर चौरजहारी फर्केको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी बखतबहादुर शाहीले प्रेमलाई आइतबार रुकुम जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

उक्त घटनाको अनुसन्धान गर्न रुकुम प्रहरी, प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्माको टोली, नेपाल प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको टोली र केनाइन शाखा कोहलपुरबाट प्रहरी नायब निरीक्षक विष्णु पौडेलको कमान्डमा तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटिएको थियो ।