☰ open Loading... 20 September 2024|  

पीडकलाई अदालतले थुनामुक्त गरेको भन्दै आन्दोलन
पश्चिम नेपाल   | २७ श्रावण २०८१, सोमबार २१:१२

आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका आरोपीलाई उच्च अदालत सुर्खेतले थुनामुक्त गरेपछि पीडितहरू आन्दोलित भएका छन्।

सुर्खेतको लेकवेशी नगरपालिका–३ व्यावरीकी १९ वर्षीया गरिमा जिसीले जेठ १४ गते घरमै आत्महत्या गरेकी थिइन्। माइती पक्षले गरिमालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै श्रीमान् गंगबहादुर खत्री, ससुरा मानबहादुर खत्री, सासु राधिका खत्रीसहितले आत्महत्या गर्न बाध्य पारेको भन्दै इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिएका थिए।

माइती पक्षको जाहेरीपछि प्रहरीले गरिमाका श्रीमान् गंगबहादुरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दा चलाएको थियो। जिल्ला अदालत सुर्खेतले प्राप्त प्रमाणका आधारमा गंगबहादुर दोषी होइनन् भन्न सकिने आधार नभएकाले हाललाई थुनामा पठाउनु भनेर आदेश गरेको थियो। त्यस विरुद्ध गंगबहादुर उच्च अदालत पुगेका थिए।

उच्च अदालतका मुख्य न्यायाधीश लोहितचन्द्र शाह र न्यायाधीश माधव धितालको इजलासले आदेश बदर वा धरौटी माग गर्ने निर्णय गरेको थियो। उच्च अदालतको आदेशपछि गंगबहादुर एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए। छोरीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई उच्च अदालतले थुनामुक्त गरेपछि माइती गाउँ भेरीगंगा नगरपालिका–११ रामघाटबाट आएका झण्डै एक सयभन्दा बढी आफन्तहरूले उच्च अदालतबाहिर धर्ना दिएका थिए। पीडितहरू मंगलगढी चोकदेखि ¥यालीसहित उच्च अदालत पुगेका थिए। उनीहरुले घुस खाएर अदालतले फैसला गरेको, पीडितले न्याय नपाएको, महिलामाथि हिंसा बढ्दै गएको भन्दै नारा पनि लगाएका थिए।

उच्च अदालत सुर्खेतका सूचना अधिकारी प्रेमप्रकाश थापाले घटनाका बारेमा आफूलाई जानकारी नभएको बताए। उनले अदालतबाहिर केही व्यक्तिहरुले नारा जुलुस गरेको जानकारी आएपनि थप विवरण बुझ्न नपाएको बताए। उनले सुरक्षाकर्मीमार्फत आन्दोलन गरिरहेकाहरूलाई छलफलमा आउन भनिएको पनि बताए।

‘अन्याय परेपछि हामी अन्यायमा प¥यौं भन्नुप¥यो,’ सूचना अधिकारी थापाले भने, ‘नारा जुलुस गरेर केही हुँदैन।’ उनले यो विषयमा छलफलका लागि नेपाल बार एसोसिएसनलाई बोलाइएको बताए।

मृतकका जेठो बुवा हर्क बिसीले पीडकलाई अदालतले थुनामुक्त गरेपछि आफूहरू आन्दोलित भएको बताए। ‘छोरीलाई आत्महत्या गर्न बाध्य बनाइयो, श्रीमान्, सासु–ससुरा र नन्दले कुटपिट गरेपछि छोरीले आत्महत्या गरेकी हुन्,’ उनले भने, ‘सुरुमा प्रहरीले जाहेरी लिन मानेन, श्रीमानविरुद्ध मात्रै जाहेरी लिएपछि जिल्ला अदालतले थुनामा पठायो, उच्च अदालतले थुनामुक्त गरेपछि आन्दोलित भएका हौँ।’

पीडितका अनुसार उच्च अदालतका न्यायाधीशले प्रहरी पठाएर वकिलमार्फत वार्तामा आउन आग्रह गरेका छन्। ‘आज धर्ना दियौँ, भोलि (मंगलबार) वकिलसहित वार्तामा जान्छौँ,’ उनले भने, ‘पीडितलाई कारबाही नभए, पीडितलाई फेरि थुनामा नपठाए थप आन्दोलन गछौं।’