☰ open Loading... 20 September 2024|  

दैलेखको नारायणमा योजना डुब्लिकेशन गरेर भुक्तानी
पश्चिम नेपाल   | २९ श्रावण २०८१, बुधबार ०९:४८

दैलेखको नारायण नगरपालिकाले पुरानो संरचनालाई देखाएर (योजना डुब्लिकेशन) भुक्तानी गरेको पाईएको छ । अघिल्लो वर्ष बनाएको नारायण नगरपालिका–१ पुरानो बजारस्थित कोतगढीमा रहेको सुन्दरी तोपको यो वर्ष पनि देखाएर भुक्तानी दिएको पाईएको हो ।

कोतगढी पूर्वाधार निर्माण संरक्षण योजना अन्तर्गत ५ लाख २८ हजार ८ सय ७५ रुपैयाँ श्रमदानसहित ४५ लाख ५५ हजार ३ सय ७१ रुपैयाँको लागत अनुमान स्वीकृत गरी उपभोक्ता समितिसँग २०८० साल वैशाख ३ गते नारायण नगरपालिकाले सम्झौता गरेको थियो ।

अन्तिम समयमा नगरपालिकाका प्राविधिकहरुको मिलोमत्तोमा उपभोक्ता समितिले अघिल्लो आर्थिक वर्षमा सुन्दरी तोप निर्माण कार्य देखाएर यो वर्ष पनि भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालय समेतले औंल्याएको छ ।

स्टोन सोलिङ, पीसीसी, स्टोन मेशिनरी वर्क, सुन्दरी टपमा ३७ एमएमको ढुंगा छाप्ने काम, सुन्दरी टोपमा ढुंगा भर्ने काममा २ लाख ८७ हजार ७ सय २९ रुपैयाँ बराबर डुब्लीकेशन भएकाले उपभोक्ता समितिबाट असुल गर्नुपर्ने समेत महालेखाले औंल्याएको छ ।

स्थानीय नगरबासीहरुले योजना दोहोरो गरेर भुक्तानी दिने प्राविधिकहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।