☰ open Loading... 20 September 2024|  

बोलेरो जीप दुर्घटना: एकको मृत्यु, तीन घाइते
पश्चिम नेपाल   | २९ श्रावण २०८१, बुधबार १६:२०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

टिकोटबाट सदरमुकाम बेनीतर्फ जाँदै गरेको बोलेरो जीप (ग १ ज ७९४५) दुर्घटनामा परेपछि जीपमा सवार ६४ वर्षीय भीमबहादुर पुन मृत्यु भएकाे हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बेनी अस्पतालमा निधन भएको हो।

दुर्घटनामा चालक ३६ वर्षीय केशव पुन, ७१ वर्षीय वीरबहादुर पुन, र ४१ वर्षीय कुमार पुन सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक राजन रायमाझीले बोलेरोका चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए। ‘बोलेरोका चालक प्रहरीको नियन्त्रणमा छन्, सावधानी नअपनाउँदा दुर्घटना भएको देखिन्छ, अनुसन्धान भइरहेको छ’ रायमाझीले भने।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, टिकोट गाउँको खेलमैदान नजिकै सामान राख्ने क्रममा गाडी भिरालो सडकबाट पछाडि गुडेपछि दुर्घटना भएको हो। बोलेरो जीपले सन्तुलन गुमाएर भिरबाट खस्दा भीमबहादुर पुन गम्भीर घाइते भएका थिए।