☰ open Loading... 20 September 2024|  

कर्णालीमा अधिकांश प्रहरी चेकपोष्ट हटाउने तयारी
पश्चिम नेपाल   | २९ श्रावण २०८१, बुधबार २०:३९

कर्णाली प्रदेशभर नेपाल प्रहरीले सुरक्षा जाँचका नाममा राखेका अधिकांश चेकपोष्ट हटाउने तयारी भएको छ ।

जिल्लामा छिर्ने मुख्यनाका र आवश्यक चेकपोष्टबाहेक धेरै प्रहरी चेकपोष्टलाई हटाउने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) अर्जुन चन्दले बताए । ‘प्रदेशभर चेकजाँच गर्ने मुख्यनाका र अन्यआवश्यक चेकपोष्टहरु अध्ययन गर्दैछौं’ डिआईजी चन्दले भने ।

हिजोआज बबईदेखि जुम्लासम्म २२ ठाउँमा प्रहरीले चेकपोष्टमार्फत् सुरक्षा जाँच गर्दै आएको छ। ६० देखि ६५ ठाउँमा ट्राफिक प्रहरीले छड्के जाँच गर्नै गर्छ । जसले गर्दा यातायात व्यवसायी र यात्रुलाई सास्ती हुने गरेको छ ।

रत्न राजमार्ग ४५ किलोमिटर र २३२ किलोमिटर कर्णाली राजमार्ग, जाजरकोट, दैलेख, सल्यान, डोल्पा र रुकुम पश्चिममा गरेर दर्जनौ चेकपोष्टहरु रहेका छन् ।

मुख्यत बबईदेखि जुम्ला र मुगुसम्म तथा जाजरकोट, रुकुम, सल्यान र डोल्पासम्म रहेका प्रहरी चेकपोष्टबाट अनावश्यक चेकपोष्टहरु हटाउने गृहकार्य कर्णाली प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ ।

जनप्रनिधि र व्यवसायबाट बढी गुनासो आउन थालेपछि प्रहरीले अनावश्यक चेकजाँच हटाउने तयारी स्वरुप अध्ययन थालेको हो ।