☰ open Loading... 19 September 2024|  

नक्कली सिभिल इन्जिनियरसहित २ जना पक्राउ
पश्चिम नेपाल   | ३१ श्रावण २०८१, शुक्रबार ११:०१

उदयपुर प्रहरीले नक्कली सिभिल इन्जिनियरसहित २ जनालाई पक्राउ गरेको छ।

सिभिल इन्जिनियरको कार्ड बनाएर विभिन्न व्यक्तिलाई ठगी गर्दै हिँडेको आशंकामा सर्लाही जिल्लाको साविक गडहिया गाविस ४ का ३४ वर्षीय जवराहिल मन्सुरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध केही उजुरी परेको र अनुसन्धान गर्ने क्रममा निजको साथबाट नक्कली कागजपत्र फेला परेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

उनको साथबाट प्रहरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, नापी कार्यालय स्याङ्जाको ०७७ वैशाख १५ गते जारी चलानी नम्बर २६ को पत्रानुसार रौशन अधिकारीको नाममा जारी स्थायी नियुक्तिपत्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग बबरमहल काठमाडौँबाट जारी भएको उनकै नागरिकता नम्बर उल्लेखित रौशन अधिकारी नामको सिभिल ईन्जिनियर (अधिकृत छैठौँँ) उल्लेख भएको कर्मचारी परिचयपत्र फेला परेको छ।

बुधबार पक्राउ परेका उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा नक्कली परिचयपत्र देखाएर केही व्यक्तिलाई ठगेको खुल्न आएको खुलेको छ। तर, विस्तृत जानकारी पाउन भने अनुसन्धान रिपोर्ट नै पर्खनुपर्ने प्रहरीले जनाएको छ। नक्कली सिभिल इन्जिनियर रौशन अधिकारी भन्ने जवराहिल मन्सुरीलाई लिखत सम्बन्धी कसुर अन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी बुधबारै फरार एक प्रतिबादी पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले फरार प्रतिबादी त्रियुगा नगरपालिका १३ का ३४ वर्षीय मनोज चौधरीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला अदालत उदयपुरको फैसलिा अनुसार वन मुद्धामा २० दिन कैद र ३ हजार जरिबाना तोकिएका चौधरीलाई फरार प्रतिवादीलाई खोजी गर्ने सिलसिलामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीमाथिको फैसला कार्यान्वयनका लागि चौधरीलाई बिहीबार जिल्ला अदालतको जिम्मा दिइएको छ।