☰ open Loading... 19 September 2024|  

दिनहुँ सुर्खेत बसपार्कमा यात्रु तानातान
पश्चिम नेपाल   | ३१ श्रावण २०८१, शुक्रबार १३:१२

सुर्खेत बसपार्कमा पुगेका यात्रुलाई दुई यातायात समितिमा आबद्ध सहचालक र कर्मचारीहरूले आफ्नो गाडीमा चढाउन हिजोआज दिनहुँ तानातान हुने गरेको छ। हिल्सा यातायात प्रालि र संयुक्त यातायातबाट छुट्ने गाडीमा चढ्न यात्रुहरूले सास्ती खेप्नुपरेको हो।

नेपाल प्रहरीको दुई भ्यानमा प्रहरी दिनहुँ गाडी छुट्ने ठाउँमा पुग्दा समेत यात्रुहरू तान्न छोडेका छैनन्। बसपार्क पुग्ने यात्रुहरूलाई दुई समितिमा आबद्ध कर्मचारी, गाडीका सहचालकहरूले हैरानी गर्न थालेको यात्रुहरू बताउँछन्। बसपार्क के पुगेको थिए दुई गाडीका सहचालकले तानातान गरेर दुःख दिएको यात्रु दिनेश थापाले बताए।

जिल्ला प्रहरी र नगर प्रहरीको टोली दैनिक रूपमा बसपार्कमा शान्ति सुरक्षाका लागि खटिए पनि यात्रु खोस्न यातायात व्यवसायीहरूले छोडेका छैनन्। कर्णालीका अन्य जिल्लाका साथै नेपालगंज रूटमा बढी गाडीहरू छुट्ने भएकाले संयुक्त यातायात र हिल्सा यातायात बीच दिनहुँ लफडा हुने गरेको छ।

संयुक्तमार्फत ८ मिनेटको फरकमा गाडी चलिरहेको र एउटा प्रालिको यात्रुहरू दुःख पाएकाले संयुक्त यातायात ब्यवस्थापन संयोजक नारायणकुमार चपाईले बताए।

सबैले स्वतन्त्र हिसावले व्यवसाय गर्न पाउनुपर्छ तर, त्यसको नाममा यात्रुको तानातान गर्न, झोला च्यात्ने कार्य यातायातको नाममा विकृति भएको हिल्सा पब्लिक यातायात प्रालिका अध्यक्ष उपेन्द्र शाहीले बताए।‘ प्रहरीले पनि यात्रुलाई तान्न दिनु भएन।’

हिल्सा पब्लिकका अध्यक्ष शाहील भने, ‘व्यवस्थित तरीकाले यात्रुहरू गन्तव्यमा जान पाउनुपर्छ। त्यसका लागि आफूहरू सधैं सहकार्य गर्न तयार छौं। बसपार्कमा सिसि क्यामरा नहुनु पनि प्रमुख समस्या रहेको छ।’

बसपार्कमा यात्रु र यातायात ब्यवसायीहरूको सुरक्षाका लागि प्रहरी टोली दिनहुँ प्रहरी टोली खटिएर सुरक्षा दिइरहेको नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्प रोकायले बताए। ‘गाडीमा चढाउन यात्रु तान्ने काम हुन्छ।’

प्रहरी निरीक्षक रोकायले भने, प्रहरीले यात्रु तान्ने कार्य रोक्न चनाखो भएर खटिएको छ।’

संयुक्त यातायातमा ९ समिति आबद्ध छन् भने हिल्सा एक्लै छ। हिल्सा पब्लिक यातायात प्रालि पनि संयुक्त यातायातबाट फुटेर छुट्टै गाडी छुटाउन थालेसँगै बसपार्कमा यात्रु चढाउने विषयमा विवाद हुन थालेको हो।