☰ open Loading... 19 September 2024|  

जीप दुर्घटनाका गम्भीर घाइतेलाई सुर्खेत ल्याइयो
पश्चिम नेपाल   | ४ भाद्र २०८१, बुधबार १९:२२

हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत ल्याइएकाे छ । आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका चालकसहित तीन जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२ सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही, रारा छायानाथ नगरपालिका– १३ का रमेश मल्ल र रारा छायानाथ–१ का पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत ल्याइएकाे प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत पठाइएको हो । यस्तै दुर्घटनाका घाइते बाजुराको बूढीनन्दा नगरपालिका–४ का सवारी चालक महेन्द्रविक्रम शाह, १५ वर्षीय रविन शाही र चङ्खेली गाउँपालिका–२ का मायादेवी शाहीको अवस्था सामान्य रहेको छ ।

तीनै जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिए । कर्णाली प्रदेश ०२–००१ च ०९२२ बोलेरो जीप आज बिहान ८ बजेतिर दुर्घटनामा परेको थियो । सडकबाट एक सय ५० मिटर तल खसेको जीप स्थानीय खड्कबहादुर शाहीको घर पछाडिपट्टि अड्किएको छ ।