☰ open Loading... 20 September 2024|  

यस वर्ष वर्षा र गर्मी दुवै अधिक
पश्चिम नेपाल   | ५ भाद्र २०८१, बिहीबार ०८:२६

यो वर्ष वर्षायाममा नेपालमा यति धेरै वर्षा भइरहेको छ कि अहिलेसम्मको रेकर्ड तोडिएको छ। अर्थात् यस्तो वर्षा नेपालमा कहिल्यै भएको थिएन। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा मात्र होइन, गर्मी पनि उत्तिकै भएको छ।

विभागका हावापानी विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यस वर्ष गर्मीयाममा विभागले देशभर राखेका स्टेसनमध्ये ११ वटाले रेकर्ड तोड्दै सबैभन्दा बढी गर्मी भएको विवरण दिएका छन्।

विभागका अनुसार यस वर्ष जुलाई ८ मा दोधारा चाँदनीमा २४ घण्टाको अवधिमा यति धेरै वर्षा भयो कि यस्तो वर्षा इतिहासमा कहिल्यै भएको थिएन। २४ घण्टामा ६२४ मिलिमिटर वर्षा भयो, यसअघि सबैभन्दा बढी वर्षा २०१७ अगस्ट १३ मा हेटौंडामा भएको थियो।

त्यस दिन हेटौंडामा २४ घण्टामा ५१६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो। यस पटक दोधारा चाँदनीमा भएको वर्षाले हेटौंडाको रेकर्ड तोडेको छ। दोधारा चाँदनीमा भएको वर्षाको विषयमा अध्ययन गर्न मौसमविद्को एउटा टोली त्यहाँ पुगेको थियो। टोलीले दोधारा चाँदनीमा भएको वर्षाबारे विभागलाई प्रतिवेदन बुझाएको छ।

दोधारा चाँदनीमा भएको वर्षालाई मौसमविद्ले ‘आरीघोप्टे’ भनेका छन्। एक घण्टामा सय मिलिमिटर या त्योभन्दा बढी वर्षा भए मौसमविद्ले त्यसलाई आरीघोप्टे भन्ने गरेका छन्। त्यस्तो वर्षा काठमाडौंमा भएको छैन। यस वर्ष दोधारा चाँदनीलाई मात्र नभई अरू दुईवटा स्टेसनले पनि वर्षाको रेकर्ड तोडेका छन्।

कञ्चपुरको हनुमान नगर र कञ्चनपुरकै सुन्दरपुर स्टेसनले पनि यस वर्ष सबैभन्दा बढी वर्षा भएको मापन गरेका छन्। यस वर्ष मनुसन जुन १० मा नेपालमा भित्रिएको थियो । सामान्यतया नेपालमा मनसुन जुन १३ देखि सुरु हुन्छ। गत वर्ष भने नेपालमा जुन १४ देखि मनसुन भित्रिएिको थियो।

मौसमविद्का अनुसार नेपालमा धेरैजसो मनसुन बंगालको खाडीबाट भित्रिन्छ। मौसमविद्ले यस वर्ष बढी वर्षा हुने अनुमान पहिले नै गरेका थिए। विभिन्न विधि अपनाएर गरिएको अध्ययनबाट यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको हुमागाईंले जनाए। तर वर्षा यति धेरै भयो कि, अहिलेसम्मको कीर्तिमान तोडियो। सामान्यतया यो वर्षभरि हुने वर्षाको ८० प्रतिशतभन्दा बढी बर्खायाममै हुने अनुमान गरिएको छ।

विभागका अनुसार यस वर्ष गर्मीयाममा यति धेरै गर्मी भयो कि ११ वटा स्टेसनले रेकर्ड नै तोडे । मौसमविद्का अनुसार नेपालमा सबैभन्दा बढी गर्मी सन् १९९५ जुन १६ मा धनगढीमा मापन गरिएको थियो । त्यस दिन अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री पुगेको थियो। त्यो रेकर्ड अहिलेसम्म तोडिएको छैन।

उक्त दिनपछि सबैभन्दा बढी गर्मी सन् १९९५ अगस्ट २ मा पश्चिम नवलपरासीको शोभारीमा रेकर्ड गरिएको थियो। त्यस दिन गर्मी ४५ दशमलव २ डिग्री पुगेको थियो। त्यसपछि सबैभन्दा बढी गर्मी यस वर्ष मापन गरिएको हो। यस वर्ष मे १६ मा टीकापुर स्टेसनमा ४५ दशमलव २ डिग्री मापन गरिएको छ।

मौसमविद्का अनुसार यो वर्ष काठमाडौंलगायत देशभरि नै गत वर्षभन्दा बढी गर्मी भएको छ । काठमाडौंको अधिकतम तापक्रम बढेर गत जेठ महिनामा ३१.९ डिग्रीसम्म सेल्सियस पुगेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिलेसम्मको रेकर्डमा सन् १९८९ मे ७ मा काठमाडौंको तापक्रम बढेर ३६.६ डिग्री सेल्सियससम्म पुगेको थियो।