☰ open Loading... 19 September 2024|  

पोष्टमर्टम रिपोर्ट: भोकाएको बाघ, भैँसीले जोडले हान्दा मर्‍यो
पश्चिम नेपाल   | ५ भाद्र २०८१, बिहीबार २१:३५

बाघले घर पालुवा जनावरमाथि आक्रमण गर्‍यो, मान्छेकै ज्यान लियो जस्ता खबरहरू बेला बेलामा सुन्न पाइन्छ। चितवन निकुञ्ज आसपासमा एकै वर्षमा बाघको आक्रमणबाट १४ जनाको मृत्यु समेत भएका घटना छन्। त्यसैले बाघले मानव बस्तीमा छिरेर पशु चौपाया माथि आक्रमण गरेको घटना हामीलाई सामान्य लाग्न थालिसकेको छ। तर जङ्गलभित्र राज गर्दै आएको बाघलाई घरमा पालिएको भैँसीले मारिदियो भन्ने खबर सहजै पत्याउन गाह्रो छ।

बिहीबार बिहान चितवनमा यस्तै घटना भयो। मकवानपुरको मनहरी–६ प्रतापपुरमा भैँसीले हानेर बाघ मरेको खबरले धेरैलाई आश्चर्यमा पारेको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगरका अनुसार प्रतापपुरस्थित बलबहादुर राईको गोठमा पुगेको बाघको त्यहाँ बाँधिएको भैँसीले हानेर मृत्यु भएको हो। भैँसीलाई आक्रमण गर्न भनेर गोठमा पुगेको बाघलाई भैँसीले हानेर मारेको उनले बताए।

‘घटनाको सूचना पाएर निकुञ्जको टोली पुग्दा प्रतापपुरस्थित राईको गोठमा भैँसी घाइते अवस्थामा सुतिरहेको र बाघ छेउमा मृत अवस्थामा पल्टिएको भेटिएको थियो। मृत बाघको शरीरमा भैँसीको गोबरसमेत थियो’– पुनले भने।

गोठमा बाँधिरहेको भैँसीको आक्रमणबाट बाघको मृत्यु भएको नौलो घटना भएको समेत उनले बताए। यो घटना बिहीबार बिहान ५ः१५मा घटेको थियो।

पोस्टमार्टमबाट आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। पोष्टमार्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले सो बाघ घाइते र भोको रहेको पाइएको बताए।

‘अर्को बाघसँग जुधेर घाइते भई लामो समय उठ्न नसकेको, उठेपछि सिकार गर्न नसकेर भौँतारिँदै बस्ती आएको जस्तो देखियो। पोष्टमार्टम गर्दा शरीरमा हड्डी र छाला मात्रै थियो,’ डा.श्रेष्ठले भने, ‘उसको शरीरको विभिन्न भागमा दुई हप्ता जतिको पुरानो, गहिरो चोट छन्। एउटा अगाडिको कुकुर दाँत भाँचिएको रहेछ। इलाका कायम गर्नेक्रममा अर्को बाघसँग जुधेर हारेको हुनसक्छ।’

विज्ञका अनुसार, भाले बाघले ४५ किलोमिटर एरियामा आफ्नो क्षेत्र निर्धारण गर्दछ। त्यहाँ दुई वटा भाले बाघ जम्काभेट भएको अवस्थामा आफ्नो क्षेत्र कायम गर्नका लागि जुध्ने गर्दछन्। जुन बलियो बाघ छ त्यसैले आफ्नो एरियामा पकड राख्ने गर्दछ।

यो बाघ अर्को बाघसँग हारेर गाउँ छिरेको हुन सक्ने अनुमान श्रेष्ठको छ। उनका अनुसार बाघको पछाडिको भाग र टाउकोमा आलो चोट भेटिएको छ। भैँसीको घाँटीमा चोट छ। श्रेष्ठका अनुसार भौँतारिँदै गोठमा पुगेको बाघ सुरुमा सबै शक्ति लगाएर भैँसीको घाँटीमा झम्टिएको र लगत्तै भैँसी ऊ माथि जाइलागेको हुनसक्छ।

‘ऊ भोकाएको थियो, भैँसी देख्नासाथ झम्टिहाल्यो। भैँसीले पहिले उसको पछाडिको भागमा हान्यो अनि टाउकोमा हानेर भक्लक्कै पारिदिएको हुनसक्छ,’ श्रेष्ठको अनुमान छ, ‘बाख्रा भइदिएको भए मारेर खानसक्थ्यो होला। परिदियो भैँसी। नजिकै भएकाले दाम्लोले बाँधिएको अवस्थामा पनि भैँसीले जोडले हान्न सक्यो। ठाउँमै लागेर बाघ ठहरै भयो होला।’

बाघको पोस्टमार्टमपछि थप परीक्षण गर्न नमुना लिइएको छ। अन्य केही रोग पनि थियो कि भनेर पत्ता लगाउन उक्त नमुनाको परीक्षण गरिने उनले बताए। तर मृत्युको कारण अरु नभएको दाबी उनको छ।

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी जङ्गलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघहरू बस्तीतिर छिर्ने गरेको बताउँछन्। ‘यो कमजोर भएर अरु बाघसँग प्रतिस्पर्धा गर्न नसकेपछि बस्ती छिरेको थियो होला। भैँसी उ भन्दा तगडा परेर आफैँ मर्न पुग्यो,’ तिवारीले भने।

मृत बाघ करिब ८ वर्षको भाले रहेको अनुमान गरिएको छ। बाघको आयु उसको दाँतको अवस्था हेरेर अनुमान गरिन्छ। घटनास्थल चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए। चितवन राष्ट्रिय निकुञ्ज तथा यस क्षेत्र वरपरका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट गत आर्थिक वर्ष चार जनाको मृत्यु भएको थियो।

आर्थिक वर्ष २०७८/०७९मा सबैभन्दा धेरै बाघको आक्रमणबाट १४ जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। गत आर्थिक वर्षमा पूर्वी नवलपरासी क्षेत्रमा बिस खुवाएर दुई वटा बाघ मारेका थिए।