☰ open Loading... 19 September 2024|  

अण्डाको माग बढ्यो, मूल्य बढाइयो
पश्चिम नेपाल   | ७ भाद्र २०८१, शनिबार १३:२८

भदौ लागेपछि अण्डाको माग बढेको छ। साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यता लगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन्। दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए। उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन्। पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ। दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ। ठूलो अण्डा चार सय ९५ र मध्यम अण्डाको मूल्य चार सय २५ तोकिएको हो।

हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताए। उनले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० ले बढाइएको जानकारी दिए। सबै फार्महरुले मूल्य बढाएको उनले बताए। लामिछानेले भने, ‘मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन।’

अण्डा उत्पादक कृषकहरु नेपाल लेयर्स कुखुरा पालक सङ्घ गठन गरेर बजारीकरणमा जुटेका छन्। सङ्घका अध्यक्ष समेत रहेका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरु फेरि व्यवसायमा फर्किएको उनको भनाइ छ। साउनमा बिक्री हुन बाँकी अण्डाहरु बिक्री भईसकेकाले अब केही सहज बन्ने पोखरेलले बताए।