☰ open Loading... 19 September 2024|  

दैलेखमा मापसे गरेर वडासचिव कुट्ने युवक प्रहरी फन्दामा
पश्चिम नेपाल   | ७ भाद्र २०८१, शनिबार २०:४७

दैलेखमा मादक पदार्थ सेवन गरेर वडा कार्यालयभित्र वडासचिव कुट्ने एक युवकलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीक कार्यालयका प्रमुख सुनिल दाहालका अनुसार पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, सालडाँडाका २३ वर्षीय हिक्मत शाही रहेका छन् ।

शाहीले उक्त वडाका वडा सचिव गोपी चौलागाइँ (जैसी)लाई कार्यालयभित्र नै कुट्पिट गर्नुका साथै गाली बेइज्जती गरेको प्रहरीले जनाएको छ । घटना बुधबार अपरान्हको हो । वडा सचिव चौलागाइँका अनुसार शाहीले मापसेकै तालमा आएर आफ्नो जन्मदर्ता बनाइदिन आग्रह गरेका थिए ।

‘२३ वर्षसम्म पनि जन्मदर्ता नभएको रहेछ, त्यसका लागि प्रक्रियाअनुसार अघि बढ्नुपर्छ, तपाईंले अहिले मापसे गर्नुभएको छ, भोलि आउनुहोला भनेँ,’उनी भन्छन्, ‘त्यसपछि त गाली गर्नुका साथै कुटपिट गरे, अझै मेरो खुट्टा दुखिरहेको छ ।’

साथै आफ्नो मोटरसाइकलमा समेत क्षति पुर्याएको चौलागाइँले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दाहालले शाहीलाई शुक्रबार जिल्ला सदरमुकाम ल्याएर अनुसन्धान कार्य अघि बढिरहेको बताए ।