☰ open Loading... 16 September 2024|  

दैलेखमा चट्टयाङ्गले चार जना घाइते
अमर सुनार   | ७ भाद्र २०८१, शनिबार २२:००

चट्टयाङ्गले चार जना घाइते, भौतिक सम्पति पनि क्षति
दैलेख – शनिबार साँझ दैलेखका तीन स्थानमा भारी वर्षासंगै परेको चट्टयाङ्गले चार जना व्यक्ति घाइते भएका र भौतिक सम्पति समेत क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

चट्टयाङ्गले भगवतीमाई गाउँपालिका–१ राँकाका २६ वर्षीय रेशम थापा, महाबु गाउँपालिका–२ डुँग्री गाउँका तीन जना ३० वर्षीय दिलबहादुर सुनार, २३ वर्षीय नगेन्द्र सुनार र ९ वर्षीय महेश सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।

महाबु गाउँपालिका–२ डुँग्री गाउँमा परेको चट्टयाङ्गले घरभित्र बसिरहेका तीन दाजुभाई दिलबहादुर, नगेन्द्र र महेशको शरीरमा पोलिनुसंगै बेहोस भएपछि दैलेख अस्पताल पठाइएको महाबु गाउँपालिका–२ की वडासदस्य पशुपति सुनारले जानकारी दिनुभयो । दिलबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ ।

भगवतीमाई गाउँपालिका–१ राँकाका थापा छिमेकी गाउँ गन्मबाट पैदल हिँडिरहेको बेला खौला भन्ने ठाउँमा बिद्युतको ट्रान्समीटरमा परेको चट्टयाङ्गको झिल्काले भेटाएर दुइटै आँखाको दृष्टिमा समस्या पैदा भएको दैलेख अस्पतालका डा. सविना दाहालले बताउनुभयो ।

घाइते चारै जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताउनुभयो । घाइतेहरुलाई प्रदेश अस्पताल पु¥याई सकिएको डा. रेग्मीले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम नारायण नगरपालिका–८ ढकानेमा रामप्रसाद न्यौपानेको घरमा शनिबार साँझ परेको चट्टयाङ्गले घर, देउतीको बारो घण्टहरु र मूर्ति समेत क्षति पुगेको स्थानीयले बताएका छन् । डुँग्री गाउँमा चट्टयाङ्गले डिलबहादुर सुनारको घरमा क्षति पुगेको बताइएको छ ।