☰ open Loading... 16 September 2024|  

कर्णाली राजमार्ग पहिरोले छियाछिया
पश्चिम नेपाल   | १३ भाद्र २०८१, शुक्रबार १७:४३

बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला)लाई छियाछिया पारेको छ । जसका कारण सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेततर्फ आउने दर्जनौँ सवारी साधन बिच बाटोमा अलपत्र परेका छन् ।

राजमार्ग अन्तर्गत कालिकोट जिल्लामा मात्रै पाँच वटा ठाउँमा पहिरोले क्षति पु‍र्याएको छ भने दैलेख खण्डको पनि चार वटा ठाउँमा पहिरो खसेको छ । प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोला, एसमोड, दहिखोला, खाडाचक्र नगरपालिका–२, जितेगडा र कालेखोलामा ठुलो पहिरोले राजमार्गलाई छियाछिया पारेको छ ।

यस्तै मेअरखोलामा माथिबाट ठुलो ढुङ्गा आएर सडक अवरुद्ध भएको छ । यता दैलेखतर्फ आठबिस नगरपालिका–५, को मालचौरमा माथिबाट आएको पहिरोले सडकलाई पूर्ण रूपमा क्षति गरेको छ भने सडक किनारामा रहेका घरहरुमा समेत क्षति पुगेको छ ।

दैलेखतर्फनै किट्टु भिर, दहीखोला, खुराखोला लगायतका ठाउँ–ठाउँमा साना–ठुला पहिरोले राजमार्ग छियाछिया भएको इलाका प्रहरी कार्यालय राकम कर्णालीका इञ्चार्ज हरिलाल सेजुवालले रातोपाटीलाई बताए ।

गगनेखोलाको पहिरोले राजमार्गको नामनिसाना नै मेटाइदिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इञ्जिनियर वीरबहादुर जिटीका अनुसार सोही ठाउँमा राजमार्गलाई जिरो पोइन्ट मानेर शुभकालिका गाउँपालिकाले आफ्नै ट्रयाक खोलेको छ । अहिले त्यही ठाउँमा माथिबाट ठुलो पहिरो आएर राजमार्ग बगाएको उनले बताए ।

यस्तै दहीखोलाको कल्भर्ट पुल नै क्षतिग्रस्त बनेको छ । उक्त ठाउँमा एउटा ट्र«कसमेत अड्किएको छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाका अनुसार दैलेखतर्फ सडक सुचारु हुन कम्तीमा तीन दिन लाग्ने छ भने कालिकोटतर्फ करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ ।

पहिरो पन्छाउनका लागि हेभी इक्विपमेन्ट परिचालित भइसकेका छन् । जुम्लातर्फबाट थप एउटा मेसिन पठाइएको छ भने एउटा मेसिन क्षतिग्रस्त ठाउँमै तैनाथ रहेको जिटीले रातोपाटीलाई बताए । सडक डिभिजन जुम्लाले दहीखोलाबाट जुम्लासम्म हेर्छ भने सुर्खेतदेखि दहीखोलासम्म सुर्खेत कार्यालयले हेर्छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इञ्जिनियर टोपनारायण पौडेलले दैलेखतर्फ अवरुद्ध भएको ठाउँमा मेसिन लगाइरहेको र उक्त मेसिनमा समस्या आएकाले स्काभेटर मगाइएको रातोपाटीलाई बताए । उनका अनुसार क्षति भएको ठाउँमा पन्छाउने भन्दा पनि नयाँ कटिङ नै गर्नुपर्ने स्थिति छ ।

‘आज स्काभेटर मगाएका छौँ, बेलुकासम्म आइपुग्यो भने बाटो सुचारु हुन ३÷४ दिन लाग्ला,’ उनले भने, ‘यता भन्दा उता (कालिकोटतर्फ) एक हप्ता लाग्ने देखिन्छ ।’

रातोपाटीबाट