☰ open Loading... 21 September 2024|  

पुल बगाउँदा रोकियो पढाइ
पश्चिम नेपाल   | १४ भाद्र २०८१, शनिबार १२:३१

विद्यालय नजिकै रहेको छहरे र रक्छे खोला दोभानको ट्रस पुल बाढीले बगाएपछि उनको घरका ५, ६, ७ र ९ कक्षामा पढ्ने बालबालिका विद्यालय जान सकेका छैनन् । गाउँलेहरु मिलेर पुल बगाएको खोलामा काठ तेर्साएर वारपार गर्नेसम्मको जोहो मिलाए पनि बालबालिका खस्ने डरले विद्यालय पठाउन नसकिएको शाही बताउँछन् ।

खोलाले गर्दा खड्क माध्यमिक विद्यालयका विद्यार्थीको पढाइ १ साता बढी पूर्णरुपमा रोकियो । उनीहरु विद्यालय जानै सकेनन् । अहिले पनि डरले गर्दा विद्यार्थी विद्यालय जान सकेका छैनन् । ३ सय विद्यार्थी भएको विद्यालयमा शुक्रबार २५ जना जति मात्र आएको विद्यालयले जनाएको छ ।

भदौ २ गते रातिको अविरल वर्षाले शिवालय–६ छहरे र रक्छे खोला दोभानको पुल बगाएको हो । रक्छे खोला माथिबाट आएको पहिरोले पुल बगाएपछि ५० मिटर दूरीमा रहेको खडकदेवी मावि भदौ ३ गतेदेखि पूर्ण रुपमा बन्द भयो । विद्यालयले विज्ञप्ति निकालेरै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि विद्यालय बन्द भएको जनाएको थियो । भदौ १२ गते बुधबारमात्र विद्यालय सञ्चालनमा आएको हो ।

स्थानीय अभिभावकले बगाएको पुलको ठाउँमा काठको कामचलाउ पुल हालेका छन् । काठको पुलको भर नमानेर अधिकांश अभिभावकले बालबालिकालाई विद्यालय नै पठाएका छैनन् । सहायक प्रधानाध्यापक तुलबहादुर बुढाले भने, ‘३०० विद्यार्थी भएको विद्यालयमा शुक्रबार २५ जनामात्र आएका थिए । अभिभावकले डरले विद्यार्थीलाई विद्यालय पठाउनै मान्नुभएको छैन । सबै विद्यार्थीलाई विद्यालय ल्याउनुस् भनेर हामीले शुक्रबार अभिभावकलाई पनि बोलाएका थियौं । आइतबारबाट पाठाउँछौं भनेर भन्नुभएको छ । हेरौं । अब पठाउनुहुन्छ कि ।’ जोखिम मोलेरै बालबालिकालाई विद्यालय पठाउन भन्न पनि गाह्रो भएको उनले बताए ।

पालिकाको वडा ६ र ७ का विद्यार्थी यो विद्यालयमा पढ्छन् । ७ नम्बर वडाका सबै र ६ नम्बर वडाका धेरैजसो विद्यार्थीले यही पुल तरेर विद्यालय पुग्नु पर्ने हुन्छ । केही दिन घाम लाग्दा पानी घटे पनि फेरि वर्षा हुँदा खोलामाथि हालेको काठ बगाउने चिन्ता छ ।

उनले भने, ‘अस्थायी पुलबाट बालबालिका खस्ने डरले अभिभावकले विद्यालय पठाउने आँटै गर्नुभएको छैन । ठूला विद्यार्थी आए पनि साना बालबालिकालाई कसरी नियमित विद्यालय ल्याउने भन्ने चिन्ता छ ।’ कक्षा ५ र ६ मा पढ्ने दुई नातिलाई २ सातादेखि विद्यालय पठाउन नसकिएको धिर्पन्नाका कर्ण सिंहले बताए । खोलाले गर्दा बालबालिकाको पढाइ नै रोकिएको उनले बताए । उनले भने, ‘पुलै त बाढीले बगाएर लियो । काठ हालेर खोला तर्नपर्ने अवस्था छ । बालबालिका खस्छन् कि भन्ने पिर छ । त्यसैले विद्यालय पठाउन सकिएको छैन ।’

बाढीले पुल बगाएपछि छोराछोरीलाई विद्यालय पठाउनै डर भएको स्थानीय वीरबहादुर सिंहले बताए । उनका ३ छोरी र १ छोरा गरी ४ जना त्यही विद्यालय पढ्छन् । उनले भने, ‘हामी गाउँले मिलेर खोलामाथि काठ त हाल्यौं । बच्चालाई विद्यालय पठाउनै जोखिम भयो । फेरि वर्षा भयो भने त्यही पुल पनि बगाउँला भन्ने डर छ ।’

यो वर्षको मनसुन सुरु भएयता कर्णालीमा ६ वटा पुलमा बाढी पहिरोले क्षति पुर्‍याएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । सबैभन्दा बढी डोल्पामा ३ वटा पुलमा क्षति पुगेको छ । यस्तै जाजरकोटमा १, हुम्लामा १, कालीकोटमा १ पुलमा क्षति पुगेको छ ।