☰ open Loading... 21 September 2024|  

२० नपुग्दै गर्भवती
पश्चिम नेपाल   | १४ भाद्र २०८१, शनिबार १२:४६

कानुनले २० वर्ष नपुगी गर्भवती होइन, विवाह समेत गर्न नपाइने व्यवस्था गरेको छ । सरकारले बालविवाह गर्ने परम्परा तोड्न वर्षौँसम्म विभिन्न सचेतनाका कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ । तर सुदूर पूर्वको ताप्लेजुङमा भने अझैपनि २० नपुग्दै आमा बन्नेहरूको संख्या सानो छैन ।

जिल्लामा सानो उमेरमै गर्भधारण गर्नेको संख्या अझैपनि निरुपण हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २० वर्षभन्दा कम उमेरमा २ सय ८२ जना युवतीले गर्भधारण गरे। तर यो अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो ।

जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी उदय दुलाल भन्छन्, ‘२०८०/०८१ मा २ सय ८२ जनाले गर्भजाँच गराए ।अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा यो उमेर समुहको संख्या ३ सय ७० थियो ।’ उनले ०८०/८१ मा ३० र ०७९/८० मा २८ जनाले घरमै प्रसूति गराएको समेत जानकारी गराए ।

सरकारले गाउँपालिका, नगरपालिका र जिल्ला अस्पतालले प्रवाह गर्ने सूचना प्रणाली एकीकृत गरेको छ । यो सूचना जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सरकार र केन्द्र सरकारले एकै पटक प्राप्त गर्छन्। यो तथ्यांकले बालविवाह गर्नेको संख्या अझैपनि उल्लेख्य रहेको देखाएको छ ।