☰ open Loading... 19 September 2024|  

डब्लुडब्लुजेमा खड्काको नेतृत्वमा नयाँ कार्यसमिति 
पश्चिम नेपाल   | १५ भाद्र २०८१, आईतवार २०:५६

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले अध्यक्ष रामकला खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष खड्का हाल अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार संयोजकमा कार्यरत छन् ।  

नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा संगीता लामा, सदस्यहरूमा अमिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का र लक्ष्मी बस्नेत चयन भएका छन् ।

 राजधानीमा शनिबार आयोजित संस्थाको १२औं साधारणसभा तथा सातौँ अधिवेशनले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको हो । 

 अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ)ले पत्रकारले राजनीतिक दबाब र प्रभावबाट टाढा रहेर काम गरे मात्र निश्पक्ष पत्रकारिता गर्न सक्ने बताइन् । पत्रकारिता क्षेत्रमा मात्र नभई महिलालाई राजनीति, सामाजिकलगायत हरेक क्षेत्रमा चुनौति भएकाले आफूले मन्त्रालयमार्फत महिलाको विकासमा काम गर्र्ने बताइन् ।

कार्यक्रममा विशेष अतिथि न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगीता खड्काले क्रियाशील पत्रकार महिलालगायतका संस्थाले पत्रकारिता क्षेत्रमा धेरै अब्बल महिला नेतृत्व जन्माउन योगदान पु¥याएको बताइन् । नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालले डब्लुडब्लुजेले पत्रकार महिलाको क्षमता विकास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निभाएको धारणा राखिन् । 

कार्यक्रममा मिडिया एड्भोकेसी ग्रुप(म्याग)की कार्यकारी अध्यक्ष बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेबा, डब्लुडब्लुजेकी पूर्व अध्यक्ष शुभेच्छा बिन्दु तुलाधरलगायतले अधिवेशनको सफलताको शुभकामना दिए ।   

सन् २००६ मा स्थापना भएको डब्लुडब्लुजेले सोही वर्ष पोखरामा पत्रकार महिलाको राष्ट्रिय भेला आयोजना गरेको थियो । त्यसैगरि दक्षिण एशियाली पत्रकार महिलाको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको संस्थाले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिमा काम गर्दै आएको छ । संस्थाले पत्रकार महिलाको अवस्था बुझ्न समाचार कक्षमा महिला नामक एक अध्ययन गरेको छ । संस्थाको हाल ४८ जिल्लामा शाखा रहेका छन् ।