☰ open Loading... 16 September 2024|  

कर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग
पश्चिम नेपाल   | १७ भाद्र २०८१, मंगलवार १६:२३

सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली राजमार्गको मर्मत सम्भारमा सरकारले विशेष चासो देखाओस् भन्ने माग गरिन । उनले सडक निर्माणका क्रममा प्रयोग हुने डोजरका कारण बाढीपहिरोमा वृद्धि भएको पाइएकाले त्यसलाई नियन्त्रण गर्न सुझाव दिइन ।

पहिरो नजाने गरी सडक पूर्वाधार निर्माण गर्न आग्रह गर्दै सांसद विसीले कर्णाली राजमार्गलाई ‘मृत्यु राजमार्ग’ का रुपमा परिचय बनाएकाले तत्काल स्थानीयको माग सम्बोधन गर्नुपर्ने बताइन ।

सांसद सुरेशआले मगरले मुलुकमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउनुपर्ने बताए । व्यवस्था बदलिए पनि नेपाली नागरिकको अवस्थामा कुनै पनि सुधार नभएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । संविधान संशोधनको विषयमा पछिल्ला दिनमा चर्को बहस भइरहेको उल्लेख गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वलाई थप सबल बनाउनैपर्ने भएकाले त्यसविरुद्ध जाने छुट कोही कसैलाई नभएको बताए ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले मुलुकको राजनीतिक परिवर्तनमा शान्तिपूर्ण सङ्घर्षको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नेपाली कांग्रेसले हरेक पटकको राजनीतिक परिवर्तनलाई नेतृत्व र संस्थागत गरेको स्पष्ट पारे । राजनीतिक स्थिरताका लागि पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा सहमति र सहकार्य भएको उनको जिकिर थियो ।

सांसद सावित्री मल्लले देशव्यापी रुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको उल्लेख गरिन । तीनै तहमा सरकार क्रियाशील भए पनि सडक निर्माणमा लापरवाही उस्तै रहेको भन्दै समस्या समाधानमा ध्यान दिनुपर्ने उनको कथन छ ।

सांसद वामदेव गौतमले समस्याग्रस्त सडक सुधारका लागि आफूले पटक–पटक सदनमार्फत ध्यानाकर्षण गराए पनि कुनै पनि सुनुवाइ नभएकामा गुनासो गरे । सदनमा सांसदहरुले राखेको विषयका बारेमा सरकारले कुनै पनि प्रतिक्रिया नजनाएको र कुनै पनि जानकारी नगराएकामा आपत्ति प्रकट गरे ।