☰ open Loading... 19 September 2024|  

कर्णालीमा डाक्टर सरुवामा मन्त्रालयको मनपरी
पश्चिम नेपाल   | १८ भाद्र २०८१, बुधबार ११:१६

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले भाद्र १३ गते मन्त्रीस्तरको निर्णयबाट मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीको सरुवामा मनपरी गरेको पाइएको छ। विशेषज्ञ डाक्टरलाई अस्पतालमा नभई अन्यत्र सरुवा गरेर सामाजिक विकास मन्त्रालयले मनपरी गरेको हो।

मन्त्रालयले सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संसाधन विकास केन्द्रमा सरुवा गरेर थन्काइएपछि प्रदेशभर सामाजिक सञ्जालमा विरोध भएको छ। कर्णाली प्रदेशमा समायोजन रोजेर आएका डाक्टर सापकोटा स्वास्थ्य सेवाअन्तर्गत जनरल सर्जरी अधिकृतस्तर दसौँ तहका डाक्टर हुन्।

प्रदेश अस्पताल सुर्खेतमा दरबन्दी रहेका सापकोटालाई चार वर्षअघि मेहेलकुना अस्पतालमा पठाइएको थियो। कर्णालीकै दक्ष डाक्टरलाई आफ्नो काम गर्न नसक्ने ठाउँमा सरुवा गरेर मन्त्रालयले राजनीति गरेको आरोप समेत लागेको छ।

राजनीतिक आँडमा डाक्टर सापकोटालाई भूमिकाविहीन बनाउने उद्देश्यले मानव संसाधन विकास केन्द्रमा सरुवा गरिएको श्रोतले जनाएको छ। मेहेलकुना अस्पताल राम्रो सुधार गरेका उनलाई प्रदेश अस्पतालमा नपठाएर अन्यत्र पठाउनुले मन्त्रालयमाथि प्रश्न समेत तेस्रीएको छ।

शिक्षक र स्वास्थ्यकर्मीलाई तालिमका लागि जनस्वास्थ्यतर्फको दरबन्दीको व्यवस्था गरिएको ठाउँमा प्रतिशोधपूर्ण डाक्टर सापकोटालाई सरुवा गरिएपछि कर्णाली प्रदेशभर विरोध भइरहेको छ। मेहेलकुना अस्पतालमा राम्रो सेवा दिईरहेका डाक्टरलाई गरिएको सरुवाको विरोध मेहेलकुनाका स्थानीय अर्जुन सोनीले सामाजिक सञ्जालमा गरेका छन्।

आफ्नो विज्ञताअनुसारको जिम्मेवारी आफूलाई प्रदेश सरकारले दिनको लागि अनुरोध गरेको डाक्टर सोजन सापकोटाले बताए। ‘मेरो विज्ञता अनुसार काम गर्ने ठाउँ कि प्रदेश अस्पताल हो कि मेहेलकुना हो।’ डाक्टर सोजन सापकोटाले भने, त्यसैले मेरो विज्ञताको उपयोग हुनु भनेको त प्रदेश सरकार र बिरामीहरूको लागि राम्रो हो। तर, राजनीति हिसाबबाट मलाई थन्काउने हिसाबबाट सरुवा गरियो यो कर्णालीकै लागि दुखद हो।’ सरुवाको विषयमा मन्त्रालयले कुनै पनि प्रतिक्रिया दिएको छैन।