☰ open Loading... 16 November 2024|  

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान
पश्चिम नेपाल   | १९ भाद्र २०८१, बुधबार १४:५७

रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख रुपैयाँ अनुदान पाएका छन्। गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा अनुदान पाएका हुन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान वितरण गरिएको थियो।

यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए। फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए। करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख बताए।

बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए। फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले १५ लाख रुपैयाँ अनुदान पाएका उनले बताए।

खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन्।

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो। प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन्।