☰ open Loading... 19 September 2024|  

बलात्कार आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ
पश्चिम नेपाल   | १९ भाद्र २०८१, बिहीबार १८:१४

बैतडीमा जवरजस्ती करणी(बलात्कार)को आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। सिगास गाउँपालिका–२ का ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

धामीलाई एक ३१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए । धामी सिगास गाउँपालिकाकै एक स्वास्थ्य संस्थामा कार्यरत छन् । उनीमाथि बलात्कार आरोपमा जाहेरी परेपछि बुधबार पक्राउ गरेको डिएसपी गिरीले बताए ।

यो घटनामा केहीदिन पहिला पीडित भनिएकी महिलाले स्वास्थ्यकर्मी धामीले आफूमाथि हातपात गरेको गाजरी प्रहरी चौकीमा निवेदन दिएको बताइएको छ । त्यो निवेदनमा स्थानीय र जनप्रतिनिधीहरूले छलफल गरेर विषयलाई सामसुम पारेका थिए ।

तर, अहिले प्रहरीमा बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी छन् । पीडित युवतीले स्वास्थ्यकर्मी धामीले आफूलाई विभिन्न प्रलोभनमा पारेर पटक–पटक जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । जाहेरीकर्ता युवती अविवाहित र स्वास्थ्यकर्मी रहेकी बुझिएको छ। आरोपित धामी भने विवाहित हुन ।

जाहेरीकर्ता युवतीकै जाहेरी निवेदनका आधारमा धामीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए ।