☰ open Loading... 19 September 2024|  

नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पश्चिम नेपाल   | २४ भाद्र २०८१, मंगलवार २१:०६

नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

मिथिलेश यादव लहान २५ भाद्र २०८१ २ मिनेट पाठ

सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजायको फैसला गरेको छ।

विद्यालयको अपुरो भवन निर्माण भएको भनेर झुठो विवरणको आधारमा भुक्तानी दिएको मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्यसहित १४ जना दोषी ठहर भएका हुन्।

वडा नम्बर-२ स्थित रामजानकी दलित आधारभूत विद्यालयमा आव ०७७/०७८ मा भवन निर्माण गरेको भन्दै १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी भएको छ। तर भवन निर्माण भने गरिएको छैन।

उक्त विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो। अनुसन्धानपछि अख्तियारले ०८१ ज्येष्ठ २८ मा १४ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले मंगलबार उनीहरुलाई भ्रष्टाचार गरेको ठहर गर्दै सजाय समेत सुनाएको हो।

दोषी ठहर भएका तत्कालीन अध्यक्ष विश्वमोहन यादवसहित तत्कालीन योजना शाखा प्रमुख रमेश निधी, जिन्सी प्रमुख संजय प्रसाद यादव, वडा-४ का अध्यक्ष मदन यादव, वडा-५ का अध्यक्ष मनोज यादव र वडा-२ का अध्यक्ष खुशीलाल साहलाई पनि दोषी ठहर गरिएको छ।

गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन दिएका इन्जिनियर कृष्णा साह र सब-इन्जिनियर सन्तोष कुमार यादवलाई पनि दोषी ठहर गरिएको छ।

यस्तै उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखियालाई पनि दोषी ठहर भएका छन्। उनीहरु झुठा बिल पेश गरेका थिए। उनीहरुलाई ३ महिना कैद सजाय सुनाइएको छ।

अदालतले अधिकृत कुसियैत र लेखापाल आचार्यलाई ३/३ महिना कैद र २ लाख ७ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। यसबाहेक अन्यलाई ३ महिना कैद र १० हजार जरिवाना तोकेको छ।