☰ open Loading... 20 September 2024|  

जिप दुर्घटना हुँदा एकको मृत्यु, ९ घाइते
पश्चिम नेपाल   | २५ भाद्र २०८१, बुधबार २१:१२

अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगङ्गा नगरपालिका-१२ स्थित हिलेखोला सडकमा डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।

छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप सडकदेखि करिब ६०/७० मिटर तल खसेको थियो।

दुर्घटनामा छत्रदेव गाउँपालिका–५, छत्रगंजका ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विपन कार्कीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी ठाडामा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते ९ जनामध्ये तीन जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। यस्तै, ६ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।