☰ open Loading... 22 October 2024|  

कर्णाली राजमार्गमा पहिरोले हजारौं यात्रु विचबाटोमै अलपत्र
पश्चिम नेपाल   | २८ भाद्र २०८१, शुक्रबार १३:५४

अविरल वर्षासँगै गत बुधबार खसेको पहिरोका कारण झन्डै तीन हजार यात्रु अलपत्र परेका छन । दुई दिनदेखि सडक खुल्न सकेको छैन । जुम्लादेखि सुर्खेत हुँदै नेपालगन्ज र नेपालगन्जदेखि जुम्ला, कालिकोट र मुगु आउने यात्रुहरु अलपत्र परेका हुन् ।

बुधबार बेलुकी आएको पहिरो पन्छाउन सकिएको छैन । वर्षा भइरहेकोले पहिरो थुप्रिरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सडकको गगनेखोला, एसमोड र हुल्ममा निरन्तर पहिरो खसिरहेको छ । कालिकोट शुभकालिका गाउँपालिका-१ गगनेखोला, एसमोड, कालेखोला र हुल्ममा सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले सडक बन्द भएपछि यात्रु र सवारीसाधन अलपत्र परेको बताए । ‘सधैं पहिरो गइरहने गगनेखोलामा ठूलो पहिरो छ,’ सूचना अधिकारी चौधरीले भने, ‘सडक खुलाउन पहल भइरहेको छ तर वर्षा भइरहेकोले सम्भव नै छैन ।’

अहिले माथिबाट ढुंगोसहितको लेदो बगिरहेकोले खुलाउने कार्यमा अवरोध सिर्जना भइरहेको छ ।

वर्षा नरोकिँदासम्म मेसिन पनि जानसक्ने अवस्था नरहेकाले काम गर्न कठिन भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । वर्षा रोकिने वित्तिकै पहिरो पन्छाउने काम सुरु हुने छ ।

राजमार्गमा जताततै पहिरो गइरहेकोले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र गर्न प्रहरीले सुझाएको छ । यो सडकमा हालसम्म १ सय ४६ पटक पहिरो गइसकेको छ । धेरै ठाउँमा पहिरो गएकोले पल्टी गरेर सामान तथा यात्रु ओसारपसार गर्न समेत कठिन छ ।

‘न यहाँ राज्यको उपस्थिति छ न कर्णालीका जनताको पीर र व्यथा बुझ्ने कुनै निकाय नै छ,’ यात्रु विश्वराज काफ्ले भन्छन्, ‘कर्णाली राजमार्गको नाम नै हराइसकेपछि यो राजमार्ग सरकारको नजरमा नै पर्ने कुरै छैन ।’

सामान्य वर्षा भयो कि हरेक दिन हजारौं यात्रुहरु अलपत्र पर्ने र राज्य कानमा तेल हालेर बस्ने गरेको आरोप कर्णालीबासीको छ । २० वर्ष अघिदेखि सञ्चालनमा आएको यो सडक अत्यन्तै जीर्ण हुँदा यात्रा कठिन बन्ने गरेको छ ।

ईकान्तिपुरबाट