☰ open Loading... 22 October 2024|  

नौमुलेमा तेलमै जथाभावी लाखौं खर्च
पश्चिम नेपाल   | २८ भाद्र २०८१, शुक्रबार १४:५९

गतआर्थिक वर्षमा नौमुले गाउँपालिका दैलेखले सडक र फिल्ड निर्माणको नाममा तेलमा जथाभावी खर्च गरेको पाईएको छ । पालिकाले फिल्ड निर्माण र सडक निर्माणका नाममा लाखौं रकमखर्च गरेको पाईएको हो ।

नौमुलेस्थित अपरलोहोरे हाईड्रोपावर कम्पनीले करिव डेढ महिना निःशुल्क दिएको डोजरमा गाउँपालिकाबाट ३८ लाख ८८ हजार ६ सय १३ रुपैयाँको जथाभावी रुपैयाँमा तेलको विल बनाई भुक्तानी गरेको पाईएको छ । पालिकाले तेल ब्यहोर्ने गरी निर्माण भएको फिल्ड (चउर) र सडक मर्मत तथा निर्माणमा लागत भन्दाबढी तेल खर्च भएको आंशका समेत गरिएको छ ।

नौमुले गाउँपालिका –८ मा गाडखोला हुँदै राकासम्म सडक मर्मत तथा पैती फिल्ड निर्माण, ७ र ८ वडा स्तरीय खेल मैदान निर्माण, नौमुले –६ मेल टाकुरादेखि राकासम्म सडक निर्माण, कालीखोला कुइया चौर सडक निर्माण, अम्लाचौर–कटढुंगा–तोटेखोला सडक निर्माणमा ९ लाख ६१ हजार ५ सय ४१ रुपैँया ८० पैसाको तेल खर्च बापत रकम भुक्तानी भएको छ ।

तामे नौमुले सडक मर्मत र भलडाँडाँ –चौराठा सडक निर्माणतथा मर्मतमा २ लाख १० हजार ५ सय ९६ रुपैँया तेल बापतखर्च पालिकाले गरेको छ । त्यस्तै अम्लाचौर–कटढुंगा –तोटेखोला–सल्लेरी सडक निर्माण र बाउदे–बाहुन गाउँमुल सडकमा १५ लाख ५ हजार ७ सय ९४ रुपैँया बराबर तेल खर्च भएको भन्दै भुक्तानी गरिएको छ । तामे नौमुले  सडक मर्मतमा २ लाख७३ हजार ७७ रुपैयाँ गाउँपालिकाले तेल वापत भुक्तानी दिएको छ । भलायडाँडाँ चौराठा सडक निर्माण, मर्मत भनेर ९ लाख २९ हजार ६ सय ५ रुपैयाँ पालिकाले तेल वापत भुक्तानी गरेको पाईएको छ ।

नौमुले गाउँपालिकाले दिएको तेलमा खर्च भएको विवरण । तस्बिर : गोविन्द केसी

अपरलोहोरे हाईड्रोपावर कम्पनीले निःशुल्कदिएको डोजरमा लागतभन्दा पनि बढी तेल वापत लाखौं रकम भुक्तानी दिएको पाईएपछि स्थानीयले आवाज समेत उठाएका छन् । पालिकाका प्राविधिकबाट डोजर चलेको हिसावले तयार पारिएको तेलको स्टेमेन्टअनुसार आएको विलको पालिकाले भुक्तानी दिएको पालिकाले जनाएको छ । तेलको विलअनुसार डोजर विहानदेखि रातीसम्म चलेको पाईएको छ । डोजर नचलेको बेला पनि प्राविधिकबाट तेलको विल उठ्ने गरेको नाम नछाप्ने शर्तमा एक कर्मचारीले बताए ।

नौमुले गाउँपालिकाले स्थानीय सडक मर्मत र निर्माणका लागि सहयोग गरिदिन अपर लोहोरे हाईड्रोपावर नौमुलेलाई भनेपछि सामाजिक उत्तरदायित्व अन्र्तगत डेढ महिना बढी उनीहरुले तेल हाल्ने गरि डोजर दिएको कम्पन्नीका सञ्चालक राजेन्द्र ढुंगेलले बताए । ‘हामीले डेढ महिना बढी डोजर उपलब्ध गराएको हौं ।’सञ्चालक ढुंगेलले भने, पालिकाले तेल हाल्ने गरी कम्पनीको तर्फबाट डोजर दिएको हौं ।’

डोजर हाईड्रोपावरबाट आएको र तेलको खर्च गाउँपालिकाले दिने गरी सडकको काम भएको हो तर, कतिखर्च भएको छ एकिन आफुलाई जानकारी नभएको नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताए । प्रमुख प्रशासकीय अधिकृत मल्लले भएको काम र विलअनुसार भुक्तानी भएको दावी गरे ।

हाईड्रोपावर निशुल्क आएको डोजरबाट कार्यपालिका निर्णय गरेर सडक र खेल मैदाननिर्माणगरिएको जनाईएको छ । तेल खर्च वापत भुक्तानी बढी भएपछि अनियमितता भएको आंशका समेत भएको छ ।