☰ open Loading... 22 October 2024|  

भिजिट कर्णालीले अनलाइनबाटै टिकट बिक्री गर्ने
पश्चिम नेपाल   | २ आश्विन २०८१, बुधबार ११:०८

कर्णालीका जिल्लामा सडक पुगेका तर सवारी जान सक्ने ठाउँसम्म यात्रुहरुलाई सहज सेवाका लागि यातायात सञ्चालन गरेको भिजिट कर्णाली यातायातले अनलाइनबाटै टिकट बिक्री गर्ने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट कर्णालीका विभिन्न जिल्लाहरुमा स्करपियो सेवा दिँदै आएको भिजिट कर्णालीले एपमार्फत यात्रुहरुले सहजै टिकट बुकिङ गर्न मिल्नेगरी एप सार्वजनिक गरेको हो ।

दैलेख, कालिकोट, जुम्ला, बाजुरा र जाजरकोट जिल्लाका लागि दैनिक ४२ वटा सवारी भिजिटले सुर्खेतबाट छुटाउँदै आएको छ ।सदरमुकामसँगै सुर्खेतबाट कर्णालीका ग्रामिण ठाउँहरुमा बाजुराको पिलिचौर, कालिकोटको पचालझरना, रास्कोट, नरहरीनाथ, दैलेखको जम्बुकाँध, वेस्तडा, पिलाडी, धरमपोखरा, सुर्खेतको अवलचिङ्ग, गर्चा, मटेला, पाम्का, र जाजरकोटको दशेरामा सवारी सञ्चालनरत छन् ।

छोटो समयमै यात्रुहरुको रोजाईमा भिजिट कर्णाली परेपछि प्रा.लि.ले अनलाइनबाटै टिकट बुकिङका लागि एप सञ्चालनमा ल्याएको अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।

‘समृद्ध कर्णालीका लागि पर्यटन र पर्यटकका लागि भिजिट कर्णाली सञ्चालनमा ल्याएको छोटो अवधिमै हामी प्रतिको विश्वासका नागरिकहरुले बढाइदिनुभयो,’ शाहीले भने, ‘बसपार्क वा काउन्टरमै गएर टिकट काट्नुभन्दा सिँधै अनलाइनमार्फत टिकट लिन सहज होस् भन्ने हेतुले यो सेवाको आरम्भ गरेको छौं ।’

सुर्खेत बसपार्कबाट आठ ओटा प्रा.लि.ले संयुक्त रुपमा यातायात छुटाउँदै आएका छन् । संयुक्तका विरुद्ध एक्लै यातायात छुटाउँदै हिल्सा र भिजिट कर्णालीले सञ्चालन गरिरहेका छन् ।

बसपार्कमा दैनिक यात्रु तानातानले समस्या उत्पन्न भएपछि भिजिट कर्णालीले डिजिटल प्रविधिको प्रयोग गर्दै अनलाइनबाट टिकट विक्रीका लागि खुला गरेको हो । सुर्खेतबाट बाहिरी जिल्ला जान वा बाहिरी जिल्लाबाट सुर्खेत आउन यात्रुहरुले अब आफै घरबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

कसरी काट्ने अनलाइन टिकट ?
सबैभन्दा पहिला तपाइँले एनड्रोइड मोबाइलको प्ले स्टोरमा गएर भिजिट कर्णाली यातायात सर्च गर्नुपर्ने हुन्छ । एप डाउनलोड गरिसकेपछि त्यसलाई ओपन (खोल्नु) पर्दछ । एप खोली सकेपछि जान चाहेको जिल्ला वा स्थान छान्नुपर्छ ।

त्यसपछि पुग्नुपर्ने जिल्ला वा ठाउँ छनोट गरेपछि मिति राख्नु पर्दछ । प्रा.लि.ले हाल एपमा भोलीपल्टका लागि मात्रै अनलाइन टिकट बुक गर्न मिल्नेगरी खुला राखेको छ । मिति छनोटपछि एरोमा क्लिक गरेर गाडीको संकेत देखाउँछ ।

प्रा.लि.मा आवद्ध गाडीहरुमा स्करपियो, एसएमल र जीप सेवा छन् । यी तीनमध्य आफूले जान चाहेको गाडी छानेपछि सीट नम्बर देखाउँछ । सिट छनोट गरेर अगाडी बढ्ने त्यसपछि गाडी छुट्ने समय र दुई ओटा काउन्टर देखाउँछ ।

एउटा बुलबुले र अर्को सुर्खेत बसपार्क रहेको छ । त्यो भनेको आफूले कति बजे काउन्टरमा पुग्ने हो भन्ने जानकारीसहित आफ्नो विवरण भर्नुपर्दछ । त्यसपछि अन्तिम प्रक्रिया अनलाइन भुक्तानीको लागी अगाडी बढ्नुपर्ने हुन्छ ।

यी सबै प्रक्रिया पूरा गरेपछि तपाइँले जान चाहेको ठाउँसम्मको भाडादर देखाउँछ त्यसपछि ई–सेवा लगइन गरेर रकम भुक्तानी तिरेपछि टिकट बुकिङ हुन्छ । त्यहीँ अनलाइन टिकटका आधारमा देखाएको मिति र समयमा बसपार्क वा बुलबुले नजिकै रहेको भिजिट कर्णालीको काउन्टरमा पुगेर गन्तव्यका लागि जान सकिनेछ ।