☰ open Loading... 22 October 2024|  

वीरेन्द्रनगरका पानी उद्योगबाट दूषित पानी बेचेको पुष्टि
पश्चिम नेपाल   | २ आश्विन २०८१, बुधबार १६:३८

व्यापार व्यवसायका नाममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही व्यापारीहरूले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गरेको पाइएको छ । वीरेन्द्रनगरमा रहेका अधिकांश पानी व्यवसायीले जनस्वास्थ्यको ख्याल नै नगरी पानी बिक्रीवितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गर्ने नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वीरेन्द्रनगरका पानी उद्योगहरूले दूषित पानी बिक्रीवितरण गर्ने गरेको पाइएको हो ।

वीरेन्द्रनगर– २ मा रहेको तिला कर्णाली पानी प्रशोधन उद्योगले पानीका बोतल तथा जारमा प्याकिङ गर्नुअघि यूभी (अल्टा भ्वाइलेट लाइट, यसले पानीमा रहेका हानिकारक जीवाणु मार्दछ) बिनै प्रशोधन गर्ने गरेको अनुगमनका क्रममा पाइएको छ । वीरेन्द्रनगरमा सञ्चालित एकाधबाहेक अधिकांशले बोतल र जार भर्ने/प्याकेजिङ स्थानभन्दा अघि यूभी मेसिन जडान नगरेको, बोतल भर्ने मेसिन मर्मत नगर्ने गरेको खाद्यको अनगुमनबाट भेटिएको छ ।

पानी प्रशोधन गरी बोतल वा जारमा राख्नुपूर्व पानीलाई यूभी मेसिन हुँदै पठाउनुपर्छ । यस मेसिनमा भएको लेजर प्रविधिले पानीमा भएका हानिकारक जीवाणुहरू नष्ट गर्दछ । यो प्रक्रिया पूरा नगरेको खण्डमा जुनसुकै बेला पानीमा हुने हानिकारक व्याक्टेरियाबाट पानीजन्य संक्रामक महामारी फैलिन सक्ने जोखिम हुन्छ ।

यस्तै, प्रशोधित पिउने पानी उत्पादन निर्देशिकामा तोकिएबमोजिम अभिलेख व्यवस्थापन, निर्देशिकाको चेक लिस्ट भर्ने तथा अन्य अभिलेखसहित उद्योगको अनुज्ञापत्र नवीकरणलगायतका काम पनि नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख क्षितिज श्रेष्ठले बताए ।

यस्तै, वीरेन्द्रनगर–३ मा रहेको जयश्री प्रशोधित पिउने पानी उद्योगले पनि यूभी मेसिनबिनै पानी बेच्ने गरेको छ । यस उद्योगले पानी परीक्षण प्रयोगशालाका उपकरण मर्मत तथा व्यवस्थित गर्नतर्फ ध्यान नदिएको नियमित अनुगमनका क्रममा पाइएको छ । वीरेन्द्रनगर– १२, औद्योगिक क्षेत्रमा रहेको मध्यपश्चिम वाटर एन्ड वेभरेज प्रालिमा पनि फिलिङ मेसिनअगाडिको यूभी मेसिनले काम नगरेको, प्रयोगशाला परीक्षण, उपकरण मर्मत सर्भिसको व्यवस्थित रेकर्ड नभेटिएको अनुगमनका क्रममा पाइएको छ ।

वीरेन्द्रनगर– १ मा रहेको कर्णाली प्रदेश वाटर एन्ड वेभरेज इन्डस्ट्रिजले अन्य उद्योगका जारहरू प्रयोग गर्ने गरेको छ । आफ्नो उद्योगको सफा र पारदर्शी जारको प्रयोग गर्नुको साटो यो उद्योगले लेबल अद्यावधिकसमेत गरेको छैन । कार्यालयले ५ साउनदेखि ३० भदौसम्म नियमित बजार अनुगमन गरेको थियो । सोही क्रममा वर्षाको समयमा पिउने पानीको माध्यमबाट संक्रामक रोगहरू फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै कार्यालयले वीरेन्द्रनगरका सातवटा प्रशोधित पिउने पानी उद्योगहरूको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा देखिएका त्रुटिहरू तत्काल सुधार गर्न निर्देशन दिइएको कार्यालय प्रमुख श्रेष्ठले बताए । यस्तै, यही अवधिमा नियमित बजार अनुगमनका क्रममा कार्यालयले २३ वटा खाद्य उद्योग जसमध्ये तीनवटा डेरी उद्योग, ३४ वटा खाद्य किराना पसल, मार्ट, दुईवटा दाना पसल र २२ वटा होटेल रेस्टुरेन्ट, स्ट्रिट फुडमा अनुगमन गरी देखिएका कैफियतहरू सुधार गराएको श्रेष्ठले बताए ।

अनुगमनका क्रममा खाद्य पदार्थ तयारी र वितरण गर्ने स्थान तथा परिसर स्वच्छ र सफा नरहेको तथा होटल/टेस्टुरेन्टहरूले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा २५ बमोजिम सेवाप्रदायकको दायित्व पूरा नगरेकाले सोही ऐनको दफा ३५ बमोजिम खाद्य स्वच्छता कायम गर्न पाँचवटा होटल/रेस्टुरेन्टलाई निर्देशन दिइएको छ ।

–शिलापत्रबाट