☰ open Loading... 21 December 2024|  

मौरीघारमा भालु आतंक
पश्चिम नेपाल   | ४ आश्विन २०८१, शुक्रबार १४:४६

भालुले मौरीघारहरूमा क्षति पुर्‍याउन थालेपछि मौरीपालक किसानहरू चिन्तत बनेका छन् । भालुबाट मौरी बचाउन कठिन भइरहेको उनीहरूको दुःखेसो छ । चन्दननाथ नगरपालिका-४ का रामकृष्ण बुढ्थापाको दुई वर्षमा १३ वटा घार भालुले खाइदियो । अब अहिले उनीसँग एक मात्र घार छ । त्यो घार पनि भालुबाट बचाउन कठिन भएको उनको भनाइ छ ।

‘भालु धपाउन अनेकन जुत्तिहरू निकालेँ । रातभर मान्छेहरू जाग्राम बस्ने,थाल ठट्याउने,दमाह बजाउने,घण्टा बजाउने देखि टीनहरू ठट्याउने समेत गरियो,’ मौरीपालक किसान बुढ्थापाले भने, ‘केही गरेर पनि भालुदेखि घार बचाउन सकिएन । न भालु धपाउन सकियो नत घारको सुरक्षा गर्न सकियो । बरु भालुले खाइरहेको घारहरू हरेक दिन हेरेर मन खिन्न बनाइरहनु पर्‍यो ।’

उनी बर्सेनि लाखौंको मह बेचिरहेका थिए । जंगलको छेउमा मौरीपालन भएकोले पनि चरन क्षेत्रको अभाव थिएन । बुढ्थापाले भने, ‘जंगलको छेउमा चरनक्षेत्र थियो । भालुदेखि बचाउन गाह्रो भयो । गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्न थाल्यो । हामी मौरीपालन किसानलाई काही गएपनि शान्ति छैन ।’

उनको मौरीपालन हेर्न आन्तरिक तथा बाहृय मौरीपालक किसानहरू आइरहन्थे । भालुले मौरीको लार्भा र मह खाइरहेको छ । दुधिलो र मिठो हुने भएकोले मौरी घार खोजीखोजी खाने गरेको किसानहरू बताइरहेका छन् ।

मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाइँले भदौ, असोज र कात्तिक महिना मौरीपालनमा भालु आतंकनै हुने गरेको बताए । उनले भने, ‘भालु मौरीघारमा लाग्यो भने सिध्याएर मात्र अन्यत्र जान्छ । नत्र वरिपरि नै बसिरहन्छ।’