☰ open Loading... 22 October 2024|  

सल्यानमा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
पश्चिम नेपाल   | ६ आश्विन २०८१, आईतवार १७:५३

युवाहरूले जिल्लाको कुमाख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नियमित सेवा र कार्य सम्पादन कानुनको अधिनमा रही छिटोछरितो हुनुपर्नेमा झन्झटिलो र स्वेच्छाचारी ढंगले गर्ने गरेको एवं अध्यक्ष तथा उपाध्यक्षलाई बुझाएको ध्यानाकर्षणका विषयमा बेवास्ता गरेको भन्दै युवाहरूले आइतबार दिउँसो तालाबन्दी गरेका हुन् ।

युवाहरूले पालिकाले दिने सेवामा लापरबाही गरेको भन्दै नाराबाजीसमेत गरेका थिए । केही कर्मचारीमाथि हातपात गरेका थिए । तालाबन्दी गरेका युवाहरूले कार्यालयको कार्यकक्षबाट कर्मचारीलाई जबर्जस्ती बाहिर निकाली केही बेर सेवासमेत अवरुद्ध गरे ।

निष्पक्ष र प्रभावकारी सेवा नदिएको र आफूहरूले राखेका माग पूरा नगरेकाले युवाहरूले अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको युवराज खड्गाले बताए । माग पूरा नहुँदासम्म ताला नखोल्ने पनि उनले बताए ।

३०/४० जनाको समूहमा आएका युवाहरूले पालिकाको गेटमै ताला लगाएको र प्रहरीले ताला तोडेपछि कार्यालयमा प्रवेश गरी अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । प्रहरीको टोलीले कार्यालयको सेवा भने सुचारु गराएको उनले जानकारी गराए ।