☰ open Loading... 22 October 2024|  

लेबनानमाथि इजरायली आक्रमण: ४ सय ९२ जनाको मृत्यु, इजरायलमा आपतकाल घोषणा
पश्चिम नेपाल   | ८ आश्विन २०८१, मंगलवार १३:२२

लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ४ सय ९२ जनाको मृत्यु भएको छ।

इरान समर्थित हिजबुल्लाह समूहलाई लक्षित गरी सोमवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी कम्तिमा १ हजार २४ जना घाइते भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमा सबैभन्दा धेरै महिला, बालबालिका र डाक्टरहरू रहेका छन्।

इजरायली सेनाले हिजबुल्लाहका करिब ३ सय केन्द्रमाथि आक्रमण गरेको दावी समेत गरेको छ। साथै सेनाले चेतावनी दिँदै त्यहाँका नागरिकलाई घर खाली गर्न पनि भनेको छ।

हिजबुल्लाहमाथि आक्रमण गरेसँगै इजरायलले एक साताका लागि आपतकाल घोषणा गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमवार लेबनानमाथि आक्रमण भए लगतै देशभर ‘स्पेशल होम फ्रन्ट सिचुएशन’को घोषणा गरेका हुन्। अर्थात् इजरायली नागरिकमाथि आक्रमणको जोखिम बढेपछि यस्तो घोषणा गरिन्छ।

यसअघि हिजबुल्लाहले आइतवार इजरायलमाथि आक्रमण गरेको थियो। जुन इजरायलको सुरक्षित क्षेत्रसम्म पुगेको थियो। त्यसपछि इजरायलले सोही दिन लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण गरेको थियो।