☰ open Loading... 22 October 2024|  

कर्णालीका दुर्गम ‘रुट’ चलाउने महतमलाई प्रहरीको सम्मान
पश्चिम नेपाल   | ८ आश्विन २०८१, मंगलवार १८:५९

विगत २२ वर्षदेखि कर्णालीका दुर्गम क्षेत्रमा सवारी चलाई यात्रुहरुलाई सकुशल गन्तव्यसम्म पुर्‍याइरहेका ४२ वर्षीय भिमबहादुर महतम प्रहरीले सम्मान गरेको छ।

उनी मुगु, हुम्ला, कालिकोट, दैलेखदेखि जाजरकोट डोल्पा लगायतका दुर्गम ‘रुट’ मा सवारी चलाउँछन्। प्रदेशभित्रका रहेका सडकहरुको अवस्था नाजुक हुँदाहुँदै पनि लामो समयदेखि कुशलतापूर्वक सवारीसाधन चलाएकोमा महतमलाई सम्मान गरिएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कर्णाली प्रदेशले एक कार्यक्रम राखेर मंगलबार उनलाई सम्मान गरेको हो। यसरी सवारी चालकलाई सम्मान गरिएको यो पहिलोपटक हो।

आफूलाई सम्मान गरिएकोमा महतमले खुसी व्यक्त गरे। आफ्नो पेसाबारे प्रशंसासहितको सम्मानले थप जिम्मेवारी बढेको उनले सुनाए। ‘अझै पनि कर्णालीमा मुख्यतः सडकको अवस्था दयनीय छ। चालकहरुले सक्दो आफ्नो सिप देखाएर सबै यात्रुहरुलाई जोगाएका छन्, अब, दुर्घटना रोक्न सरकारले सडक राम्रो बनाओस्।’

चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि आयोजित कार्यक्रममा ‘सवारी चालक प्रतिबद्धता कार्यक्रम’ समेत गरिएको थियो। कार्यक्रममा सुर्खेतमा रहेका विभिन्न एक दर्जन बढी समितिका अध्यक्षहरू सहभागी थिए।

प्रदेश ट्राफिक प्रमुख अपिल राज बोहोराले कुनै प्रहरीले चालक तथा सहचालकलाई अनावश्यक रुपमा दुःख दिएमा तत्काल कारबाही गर्ने प्रतिबद्धता समेते जाहेर गरे।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख राजेन्द्र भट्ट, ट्राफिक ब्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख अपिल राज बोहोरा, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का लगायत प्रहरी अधिकारीहरूले आफ्नो भनाइ राखेका थिए।

चाडपर्वमा यात्रुहरुका लागि सहज यात्राको वातावरण बनाउन उपस्थित सबैले प्रतिबद्धता जनाए। कर्णालीमा सडक सञ्जालको अवस्था दयनीय हुँदा दुर्घटना दर अत्यधिक रहेको छ।