☰ open Loading... 22 October 2024|  

सहकारी ठगेर फरार मेयर नेपाली दिल्ली विमानस्थलबाट पक्राउ
पश्चिम नेपाल   | ११ आश्विन २०८१, शुक्रबार १९:४७

सहकारी ठगी मुद्दाका फरार आरोपी बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन्। गत वर्ष (२०८०) जेठबाट फरार रहेका मेयर नेपाली दिल्लीस्थित विमानस्थलमा पक्राउ परेका हुन्।

फरार भएपछि मेयर नेपालीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरेको थियो। सोही नोटिसमा रहेका मेयर नेपाली दिल्लीको विमानस्थलमा यात्रा गर्ने क्रममा फेला परेका थिए। जहाँ दिल्ली स्थित नेपाली दूतावासमा रहेको नेपाल प्रहरीका ‘पुलिस एटेची’ले उनलाई ‘होल्ड’ गराएर राखेको नेपाल प्रहरीका निमित्त प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक९एआइजी० टेकप्रसाद राईले जानकारी दिए।

‘विमानस्थलमा भेटिएपछि हाम्रो दूतावासको एटेचीले त्यहाँ होल्ड गराएर राख्नुभएको छ,’ निमित्त प्रहरी प्रमुख राईले भने,‘अब इन्टरपोलको सहयोगमा त्यहाँबाट नेपाल झिकाउने प्रबन्ध भइरहेको छ।’

पक्राउ परेका मेयर नेपालीमाथि बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत रकम अपचलन गरेको आरोप छ। आरोप लागे लगत्तै प्रहरीले अनुसन्धान थाल्दा उनी फरार भएका थिए। उनी उक्त सहकारीको संस्थापक अध्यक्ष हुन। उनीलगायतका सञ्चालकले उक्त सहकारीबाट डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ।

उक्त सहकारी ठगीको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ। बागलुङ प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मेयर नेपालीसहित ११ जनाविरुद्ध २०८० असारमा अदालतमा मुद्दा दायर गरेको थियो।